सिटिजन्स बैंकको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले साधारणसभा आह्वान गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले बैंकको १७ औं वार्षिक साधारण सभा असोज २६ गते बिहान ११ः०० बजे अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा आह्वान गरेको हो ।

बैंकले दशैंअघि नै वार्षिक साधारणसभा आह्वान गरी घोषित नगद लाभांश वितरण गर्न लागेको हो । दशैं खर्चको रुपमा सेयरधनीले दशैंअघि नै नगद लाभांश पाउनेछन् ।

बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ५.७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । त्यस्तै, संस्थापक सेयरधनीको तर्फबाट ३ जना सञ्चालक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा,१४८ वटा ए।टि।एम। र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १६ लाख ४८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स