नक्कलीअन्तः शुल्क स्टीकरका कारोबारी भारतबाट पक्राउ

काठमाडौं । मदिरा उद्योगलाई अन्तःशुल्कको नक्कली स्टीकर बिक्री गर्ने प्रमुख कारोबारी बाबुराजा कशोधनलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भारतबाट केही दिन अघि कशोधनलाई पक्राउ गरेको हो । राजस्व अनुसन्धान विभागको केही दिन अघि नै अनुसन्धानबाट कशोधन नक्कली स्टीकरको गिरोहको नाइके भएको खुलेको थियो ।

बुटवल बसेर विभिन्न मदिरा उद्योगलाई लेवल बनाएर बिक्री गर्दै आएका उनलाई नक्कली स्टीकर समेत बेचेको अनुसन्धानबाट खुलेपछि उनी फरार थिए । नक्कली स्टीकर बरामद भएको केही समयपछि कशोधन फरार भएका थिए । शुरुमा प्रहरीले नक्कली स्टीकरसहित दुई जना पक्राउ परेपछि मुख्य कारोबारीले मुद्दा मिलाउन चलखेल सुरु गरेका थिए ।

राजनीतिक आडमा नक्कली स्टीकरका नाइके कशोधनसँग नेपाल र भारत दुवैतर्फको नागरिकता छ । विभागले उनको कम्पनीको बैंक खातादेखि सबै कारोबार रोक्का राखेको छ । कशोधनबाट लेबलिङ किन्ने अधिकांश डिष्टीलरीले नक्कली स्टीकरमा संलग्न पाइएको थियो ।

विभागले क्रिष्टल डिष्टीलरी र माउण्ट एभरेष्ट डिष्टीलरीमा प्रयोग भएको स्टीकर र नक्कली स्टीकरको सिरियल नम्बर मिलेपछि दुवै उद्योग बन्द गरेर खातापाता जफत गरेको थियो । तर दुई साता अघि ती दुई उद्योगलाई संचालन अनुमति दिइसकिएको छ ।

भैरहवा भन्सार कार्यालयबाट ल्याइएको स्टीकरको रोल सशस्त्र प्रहरीले बरामद गरेपछि अन्तःशुल्क छल्न नक्कली स्टीकर प्रयोग हुने गरेको खुलेको थियो । २ करोड ३५ लाख ६३ हजार मूल्य बराबरको नक्कली अन्तःशुल्क स्टीकरसहित दुई जना सशस्त्र पक्राउ गरेको थियो।

पक्राउ परेको स्टीकर छपाइका लागि कम्तीमा पनि ४० देखि ५० करोडको मेसिन आवश्यक पर्ने देखिन्छ । यो खाले मेसिन नक्कली स्टीकर छाप्नैका लागि प्रयोग नगरिने अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स