सेयर धितो कर्जामा सीमा राख्नै पर्ने भए २५ करोडको राखौंः अर्थमन्त्री डा.महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सेयर धितो कर्जाको सीमा भरसक नराख्ने र राख्नै परेपनि सीमा बढाएर २५ करोड पुर्याउन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गरेका छन् । मंगलबार भएको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वयन समितिको छलफलमा अर्थमन्त्री डा.महतले गभर्नर अधिकारीलाई भू–उपयोग नियमावली संशोधन मार्फत जग्गाको कित्ताकाट खुलाएजस्तै अब सेयर बजारमा पनि तरलता सहजीकरण गर्नुपर्ने बताए । त्यसका लागि राष्ट्र बैंक केही लचिलो बन्न अर्थमन्त्री महतले गभर्नर अधिकारीलाई आग्रह गरेको एक सहभागीले बताए ।

छलफलको अन्तिमतिर अर्थमन्त्री डा. प्रकाशकरण महतले भने ‘घरजग्गाको समस्या समाधान भएको छ । आर्थिक गतिविधि बढाउन सेयर बजारलाई पनि सहज बनाउनुपर्यो ।’ ‘मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमाले अर्थतन्त्रमा कुनै फाइदा भएन । १२ करोडको सीमालाई हटाएर सकेसम्म कुनै सीमा नै नराखौं, राख्नै पर्ने भए २५ करोडको सीमा राख्दा उपयुक्त हुन्छ ।’

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको १२ करोडको सीमा लगाएकोे छ । चौतर्फी आलोचना भएपछि राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा खुलाउने तयारी गरेको हो । अहिले सामाजिक सञ्जालमा गभर्नर अधिकारीका विषयमा विभिन्न आलोनचा हुन थालेको छ ।

अर्थमन्त्री महतले १२ करोडको सीमा हटाउन प्रस्ताव गरेपछि गभर्नर अधिकारीले भने १२ करोडको सीमाले गर्दा आफैं सबैका तारो बनेको भन्दै त्यसलाई हटाउने बताएको स्रोतले बतायो । मंगलबारको छलफलबाट मात्रै गभर्नर अधिकारी १२ करोडको सीमा हटाउन तयार भएका भने होइनन् । त्यसअघि सोमबार पनि गभर्नर अधिकारी र अर्थमन्त्री डा. महतबीच छुट्टै छलफल भएको थियो ।

१२ करोडको सीमा हटाउन तयारी भएपनि त्यसमा कतिको सीमा राख्ने भन्ने विषयमा छलफल हुन भने बाँकी रहेको छ । ‘यस्तो कर्जा नै विस्तारै हटाएर जानुपर्छ र ब्रोकर मार्फत मार्जिन ट्रेडिङ सुरु गर्नुपर्छ भन्ने राष्ट्र बैंकको नीति भएको यस आवको मौद्रिक नीति सार्वजनिक पछिको पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले बताइसकेका थिए ।

‘अहिलेलाई संस्थागतमा मात्रै १२ करोडको सीमा हटाउन बढी दबाब देखिन्छ । व्यक्तिगतमा १२ करोडको सीमाले समस्या नहुने लगातीकर्ताबाट पनि आइरहेको छ । त्यसलाई पनि विचार गरेर यसमा पुनरवलोकन हुन्छ ।’

राष्ट्र बैंकले ४/१२ को सीमा लगाउनु अघि लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ८ अर्ब रुपैयाँ सेयर धितो कर्जा लिएका थिए । ४/१२ को सीमा लगाएर कर्जामा कडाइ गरेपछि यस्तो कर्जा घटेर अहिले ७६ अर्बमा खुम्चिएको छ । २ वर्षमानै यस्तो कर्जा करिब ३२ अर्ब रुपैयाँले घटेको छ ।

सेयर धितो कर्जामा गरिएको कडाइले गर्दा बजारमा पैसा आउन नसकेको र त्यसले बजारमा माग सिर्जना गर्न नसकेको विष्लेषण हुँदै आएको छ । सो कारण नेप्से सूचक ३२०० विन्दुबाट घटेर १८०० विन्दुसम्म झरेको छ । गत दुई वर्षमा लगानीकर्ताले सेयर बजारबाट करिब १६ खर्ब रुपैयाँ गुमाएका छन्। ४४ खर्ब रुपैयाँसम्म पुगेको बजार पुँजीकरण अहिले २९ खर्बमा झरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स