काठमाडौं । अर्थ सचिवमा कृष्णहरि पुष्कर कमब्याक भएका छ्न् । शुक्रबार बसेको मन्त्री परिषद्को बैठकले अर्थ सचिव अर्जुन पोखरेलको ठाउँमा डा. कृष्णहरि पुष्कर ‘कर्ण’ लाई ल्याएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव पुष्करलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको हो । पुष्कर दोस्रो पटक अर्थ सचिव बनेका हुन् । यस अघि पुष्कर राजस्व सचिवबाट अर्थ सचिव बनेका थिए ।
तत्कालीन अर्थ सचिव मधु मरासिनी र अर्थमन्त्री जनार्दन शर्माको कुरा नमिलेपछि मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर राजस्व सचिव रहेका पुष्करलाई अर्थ सचिवको जिम्मेवारी दिइएको थियो । ८ महिनापछि उनै अर्थ सचिवमा आएका हुन् ।
करिव ८ महिना सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेका सचिव पुष्करलाई अघिल्लो हप्तामात्रै प्रधानमन्त्री कार्यालयमा ल्याइएको थियो ।
हाल अर्थ सचिवको रुपमा कार्यरत अर्जुनप्रसाद पोखरेललाई सरकारले बैशाख २०, २०८० मा नियुक्त गरेको थियो । पोखरेल तोयम रायलाई विस्थापन गर्दै अर्थ सचिव बनेका थिए ।