विद्यालय शिक्षा ऐन २०८० मस्यौदाको विरोधमा नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको छ । संसदमा पेश गरिएको उक्त विधेयकको विरोधमा महासंघले असोज ३ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेको हो ।
महासंघले एक विज्ञप्ती जारी गर्दै असोज ३ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द आह्वान गरेको हो । विद्यालय बन्द गरेर काठमाडौँ केन्द्रित भएर सडक आन्दोलन गर्ने घोषणा गरेको हो ।
महासंघका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीले जारी गरेको विज्ञप्तीमा महासंघसँग सरकारले गरेका विभिन्न सम्झौता ऐनमा नसमेटिएको जनाएको छ । महासंघले आन्दोलन सम्बन्धी जानकारी दिनका लागि शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
नेपाल शिक्षक महासंघ र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विभिन्न समयमा सम्झौताहरु भएका थिए । संसदमा पेश गरेको ‘विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८०’ शिक्षक–कर्मचारीका माग र हकहितको प्रतिकूल रहेको महासंघले जनाएको छ ।
विधेयकले स्थायी, अस्थायी÷करार, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार र संस्थागत विद्यालयका शिक्षक लगायत सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीका मुलभूत मुद्दाहरुलाई सम्बोधन गर्न नसकेको महासंघले औल्याएको छ ।