काठमाडौं । अर्थ मन्त्रालयले हिजो ५५ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले हिजो बुधबार गरेको सरुवा नियमति हो । अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले हिजो ५५ जना उपसचिवको सरुवा गरिएको र त्यो सरुवा नियमित भएको बताए । हरेक मन्त्रालयले हरेक २ वर्षमा कर्मचारीहरूको हेरेफेर गर्ने गर्दछ
‘यो नियमित सरुवा भएकोले त्यसमा खासै चासो राखिन,’ उनले भने ‘मन्त्रालय, विभाग तथा कार्यालयमा ती उपसचिवहरू सरुवा गरिएको हो ।’ अर्थ मन्त्रालयका प्रवक्ता शर्माले त्यसो भने पनि मन्त्रालयलाई भन्सार कार्यालयमा पनि खास गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी पठाउन हम्मे हम्मे भयो ।
मन्त्रालयले एकै पटक यति धेरै कर्मचारीकोे सरुवामा भन्सार विभाग र यसअन्तर्गतका कार्यालयमा भने कर्मचारी हेरफेर गर्न सकेनन् । अघिल्ला वर्षहरूमा भन्सार कार्यालयमा सरुवा लिनको लागि मन्त्रालय धाउने कर्मचारी यस पटकको सरुवामा भने भन्सार कार्यालयमा सरुवा हुन मानेनन् । सुनकाण्डले तर्सिएका कर्मचारीले आफू सेफ ल्याण्डमा बसेर सुरक्षित विवाद रहित कार्य सम्पादन गर्न भन्सार कार्यालयमा सरुवा लिन नमानेका हुन् ।
‘काम गर्दा कहाँ गएर फसिन्छ थाहा नै छैन,’ अर्थका एक उपसचिवले भने ‘तयसैले जहाँ विवाद रहित काम गर्न पाइन्छ, त्यहि बस्न खोजिएको हो । यो हाम्रो नियमित सरुवा भएपनि अहिलेको अवस्था ठिक नहुँदा सेफ ल्याण्डिङ खोजिएको हो ।’
मंगलबार भएको सरुवा ५५ जना मध्ये १ जना उपसचिव भन्सारबाट आन्तरिक राजस्व कार्यालयमा सरुवा भएका छन् भने एक जना कर्मचारीमात्रै भन्सार विभाग गएका छन् ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा रहेका यमराज पाण्डेलाई आन्तरिक राजस्व कार्यालय कालिमाटीको प्रमुखमा सरुवा गरिएको छ । यस्तै, अर्थ मन्त्रालयबाट उमेश श्रेष्ठलाई भन्सार विभागमा पठाइएको छ । अर्थ मन्त्रालयले केही दिनपछि भन्सार कार्यालयमा कार्यरत उपसचिवको सरुवा तयारी गरेको छ ।
अर्थ मन्त्रालयमा राजस्व समूहका अधिकृत र उपसचिव कार्यारत हुन्छन् । राजस्व समुहका कर्मचारीलाई भन्सार वा कर कार्यालयमा जिम्मेवारी दिने अभ्यास छ ।