काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउने गरी तयार भएको रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको छ ।
आरोपीमाथि विभिन्न सातवटा कसुरमा मुद्दा चलाउने रायसहितको प्रतिवेदन सिआइबीले आज सरकारी वकिलमा पेश गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता महेशप्रसाद खत्रीले सीआईबीको टोली आरोपीसहित प्रतिवेदन लिएर कार्यालयमा आइपुगेको जानकारी दिए ।
उक्त प्रकरणमा आरोपीमाथि भन्सार ऐन, संगठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, मुलुकी अपराध संहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबारहीका लागि सिफारिस गर्ने गरी अनुसन्धान प्रतिवेदन तयार पारेर सरकारी वकिल कार्यालयमा पठाइएको सीआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिए ।
अनुसन्धानका क्रममा अहिलेसम्म गिरोहले विभिन्न सात वटा कम्पनीबाट तीन सय ६२ किलो (तीन सय दुई र ६० किलो) भन्दा बढी सुन तस्करी गरेको खुलेको पनि जानकारी दिए । साठी किलो सात सय १६ ग्राम बरामद गरिए पनि अरु सुन बरामद हुन सकेन ।
अहिलेको मूल्यमा तीन अर्ब ५० करोड दुई लाख १६ हजार पाँच सय ५२ को सुन तस्करी भएकाले सो रकमलाई बिगो कायम गरी मुद्दा अघि बढाउन पनि राय दिइएको छ । अहिलेसम्म ३२ जना पक्राउ परेका छन् । त्यसमध्ये २३ जना नेपाली र नौ जना विदेशी रहेका छन् । १८ जना फरार रहेका छन् ।
गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।
विभागले आवश्यक अनुसन्धान सकेपछि १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम फेला परेको थियो ।