पारामाउन्ट मोटर्सद्वारा एमजीका (इभी) ‘कोमेट’ र ‘एमजी ४’ सार्वजनिक, यस्ता छन् मूल्य र विशेषता

काठमाडौं । एमजी गाडीका लागि नेपालको आधिकारिक वितरक तथा आयातकर्ता पारामाउन्ट मोटर्सले एमजीका दुई विद्युतीय सवारीसाधन (इभी) ‘कोमेट’ र ‘एमजी ४’ सार्वजनिक गरेको छ। नेपाली बजारमा बढ्दो विद्युतीय सवारी साधनहरुको भीडमा कम्पनीले दुई मोडलका सवारी सार्वजनिक गरेको हो ।

पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले नेपाली बजारमा यी दुई इभी भित्र्याउन पाउँदा उत्साहित भएको बताए। स्टाइलिस, प्राक्टिकल र आफ्नो बजेटमा गाडी किन्न चाहने ग्राहकका लागि यी दुई मोडेल उपयुक्त हुने उनको भनाइ छ ।

एमजी कोमेट भारतमा बनेको आकर्षक मूल्यको इभी हो जसले सिंगल चार्जमा २ सय ३० किलोमिटर रेन्ज दिन्छ। यसमा १ सय ७३ किलोवाट आवरको ब्याट्री र ३१.२६ किलोवाटको मोटर छ।

एमजी कोमेटमा यात्रु सुरक्षाका लागि आइपी६७ रेटेड ब्याट्री डुअल फ्रन्ट एयर ब्याग, पछाडिपट्टि पार्किङ सेन्सर र सबै यात्रुका लागि सिट बेल्ट छन्।

सुविधा र सहजताका लागि कोमेटमा एलसिडी स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसी र हिटरजस्ता सुविधा छन्।

एमजी कोमेटको सुरुवाती मूल्य १७ लाख ९९ रुपैयाँ छ भने एमजी कसेट इभी प्ले र पेस गरी दुई भेरिएन्टमा उपलब्ध छ।

त्यस्तै एमजीले कोमेट हाइ भोल्टेज कम्पोनेन्टमा १ लाख किलोमिटरसम्म तीन वर्षको वारेन्टी दिएको छ भने हाइ भोल्टेज ब्याट्रीमा १ लाख २० हजार किलोमिटरसम्म आठ वर्षको वारेन्टी छ।

एमजी ४ सन् २०२३ को ‘युके कार अफ द इयर’ हुनुका साथै यसले युरोपमा पनि सेफ्टीका लागि पाँचतारा पाएको छ। कम्फर्ट र लक्जरी गरी दुई भेरिएन्टमा उपलब्ध एमजी कम्फर्टको ब्याट्री क्षमता ५१ किलोवाट आवर छ र यसमा ९९ किलोवाट मोटर छ।

त्यस्तै एमजी लक्जरीको ब्याट्री क्षमता ६४ किलोवाट आवर छ भने १ सय ५० किलोवाटको मोटर छ। एमजी ४ इभीको मुख्य आकर्षण भनेको इन्डिभिजुअल सस्पेन्सन र रियर ह्विल ड्राइभ हो जुन यही मूल्यमा नेपाली बजारमा उपलब्ध अन्य इभी सेग्मेन्टमा पहिलो फिचर हो।

एमजी ४ ले सिंगल चार्जमा ४ सय ३५ किलोमिटरसम्म रेन्ज दिन सक्छ। राम्रो ह्यान्डलिङ र ट्र्याक्सनका लागि यसमा रियर ह्विल लेआउट छ। त्यस्तै यात्रु सुरक्षाका लागि रियर आइसोफिक्स, फ्रन्ट साइड एयर ब्याग, टायर प्रेसर मनिटरिङ सिस्टम, सिट बेल्ट रिमाइन्डरजस्ता फिचर छन् भने सुविधा र सहजताका लागि मोबाइल फोन ब्लुटुथ की, पाँच ड्राइभिङ मोडजस्ता फिचर छन्।

त्यस्तै हाइभोल्टेज ब्याट्रीमा १ लाख ५० हजार किलोमिटरसम्म आठ वर्षको वारेन्टी दिइएको छ भने हाइभोल्टेज कम्पोनेन्टमा १ लाख किलोमिटरसम्म तीन वर्षको वारेन्टी दिइएको छ।

त्यस्तै एमजी ४ कम्फर्टको सुरुवाती मूल्य ४१ लाख ४९ हजार छ भने एमजी लक्जरीको सुरुवाती मूल्य ५८ लाख ९९ हजा छ।

एमजीका यी दुवै इभीमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रिभर्सिङ क्यामेरा र आवश्यक सेफ्टी फिचर छन्। यी दुवैमा एमजीले आफ्टर सेल्स सर्भिस र एक वर्षको वारेन्टी दिएको छ।

हाल नेपालभरि एसी र डिसी गरेर १९ एमजी चार्जिङ स्टेसन छन्। यद्यपि, २०२३ अन्त्यसम्म पारामाउन्ट मोटर्सले चार्जिङ स्टेसन संख्या ५० सम्म पुऱ्याउने लक्ष्य राखेको छ।

आफ्ना सेवाग्राहीको सहज यात्राका लागि पारामाउन्ट मोटर्सले देशका मुख्य स्थान मुलकोट, चितवन, कुरिनटार, बुटवल र ढल्केबरमा डिसी चार्जिङ स्टेसन स्थापना गरेको छ। यी स्थानमा आधा घन्टामै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने नयाँ सर्भिस सेन्टर कुसुन्ती तथा इटहरी, बिर्तामोड, बर्दीवास, वीरगन्ज, पोखरा, हेटौंडा, नौबिसे, नेपालगन्ज, धनगढी, गाईघाट र दाङ लमहीमा पनि चाँडै डिसी चार्जिङ स्टेसन स्थापना गरिने जानकारी दिएको छ।

त्यस्तै काठमाडौं, बिर्तामोड, विराटनगर, चितवन, बर्दीवास, सिन्धुली, पोखरा, कुरिनटार, मुलकोट, बुटवल, वीरगन्ज, इटहरी, जनकपुर र ढल्केबरमा एसी चार्जिङ स्टेसन छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स