काठमाडौं । विपी साहित्य सम्मानबाट जनकपुरका डा. राजेन्द्र बिमल सम्मानित भउका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले विपी कोइरालाको एक सय १०औं जन्मजयन्तीका अवसरमा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिएको कार्यक्रममा डा. बिमललाई सम्मानपत्रसहित पुरस्कृत गरेको हो ।
जननायक विपी कोइराला स्मृति ट्रस्टले बर्सेनि उक्त पुरस्कार प्रदान गर्दैआएको छ । पुरस्कारको राशि एक लाख एक हजार रहेको छ । यस्तै ट्रस्टले प्रदान गर्ने विपी प्रजातन्त्र सेनानी सम्मानबाट रुपन्देहीका ९२ वर्षीय डिल्लीरमण शर्मा न्यौपाने पुरस्कृत भए । सो पुरस्कारको राशि ५१ हजार रहेको छ ।
दुवै जनालाई पुरस्कार प्रदान गर्दै राष्ट्रपति पौडेलले नेपालको इतिहासमा जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाउन कठोर जेलनेल एवम् निर्वासनसहितको लामो संघर्षपूर्ण जीवनयात्रामा समर्पित कोइरालाको बहुआयामिक व्यक्तित्व राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय जगत्मा रहेको चर्चा गरे । विश्वमा उत्कृष्ट मानिएको उत्पादनमा वृद्धि, प्राथमिकता निर्धारणसहितको न्यायोचित वितरणमा आधारित लोकतान्त्रिक सिद्धान्तप्रति विपीको विचार ‘सबै नेपालीको आधारभूत आवश्यकता र सबै नेपाली परिवारको मध्यमवर्गीय हैसियत’ भन्ने उनको धारणा समानताको सिद्धान्तलाई मूर्तरूप दिने व्यावहारिक र ठोस दृष्टिकोण भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले अहिले पनि सो दृष्टिकोण उत्तिकै सान्दर्भिक रहेको छ भने ।
‘विपीले देखाएको आदर्शमा हामी हिँड्न सके मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुन्छ’, उनले भने । राष्ट्रपति पौडेलले स्वतन्त्रतालाई नागरिकको अविच्छिन्न अधिकारका रुपमा स्थापित गरेर लोकतान्त्रिक शासन प्रणालीको माध्यमबाट मुलुकको आर्थिक र सामाजिक विकास गर्नुपर्छ भन्ने विपीको मान्यता रहेको उल्लेख गरे ।
‘राष्ट्रिय एकता र मेलमिलापबाटै मुलुकसामु देखापर्ने समस्याको समाधान खोज्नुपर्छ भन्ने उहाँको धारणालाई समय र परिस्थिति सापेक्ष बनाउँंदै त्यसैलाई अनुकरण गरेर आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि हासिल गर्न सफल भएका छौं’, राष्ट्रपति पौडेलले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र यसैका माध्यमबाट मुलुक सामु देखापर्ने यावत समस्या समाधान गरी जनताले अपेक्षा गरेअनुरूप आर्थिक रुपमा समृद्ध नयाँ नेपाल निर्माण गर्न विपीले अघि सार्नुभएको कल्याणकारी राज्य प्रणालीको अवधारणा सिद्धान्त, मूल्य, मान्यता र आदर्श आज पनि उत्तिकै सान्दर्भिक छ ।’
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अहिलेको संविधान विपी विचारकै सार भएको राष्ट्रपति पौडेलले धारणा व्यक्त गरे । अहिलेको संविधानले गरेको समावेशी व्यवस्थासहितका लोकतान्त्रिक मूल्यमान्यता विपीले चाहेको समावेशी समाजको अवधारणाको सार भएको उनले बताए । विपीको विचारलाई अन्यथा व्याख्या नगर्नसमेत राष्ट्रपति पौडेलले आग्रह गरे ।
‘विपी राजनीति र साहित्यका एक अनुपम पुञ्ज हुनुहुन्थ्यो, राजनीतिको कुनै प्रभाव साहित्यमा पर्न नदिइकन आफू दुवै क्षेत्रमा उत्तिकै अब्बल देखिन सक्ने विपीको यस्तो गुण विश्वका विरलै व्यक्तिमा पाइन्छ”, राष्ट्रपति पौडेलले भने, ‘त्यस्तो व्यक्तित्व पाउनु नेपालीका लागि गर्वको विषय हो ।’
राष्ट्रपति पौडेलले नेपालको राजनीतिमा सदैव उच्चस्थानमा रहने विपीमा रहेको साहित्यिक प्रतिभाले समेत उनको बहुआयामिक व्यक्तित्वलाई प्रस्टयाएको बताए ।
कार्यक्रममा ट्रस्टका सदस्य एवम् प्रतिनिधिसभा सदस्य डा. शशांक कोइरालाले धन्यवाद ज्ञापन गर्दै विपीको लोकतन्त्रप्रतिको निष्ठा, विचार र दर्शनलाई अझै व्यापक बनाउनुपर्नेमा जोड दिए । ट्रस्टका महासचिव रामचन्द्र पोखरेलले विपीको समग्र व्यक्तित्वको अध्ययन अनुसन्धानका लागि ट्रस्टले आफ्नै भवन निर्माण गरी अनुसन्धान केन्द्र बनाउन लागेको जानकारी गराए ।
सम्मानित व्यक्तित्व डा. बिमलले विपी सदैव स्वतन्त्रता र समानताका पक्षधर थिए भन्दै लोकतान्त्रिक समाजवाद नै विपीको राजनीतिको चेतनाको प्राण भएको बताए । कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला, सांसदहरु तथा विभिन्न क्षेत्रका उच्चपदस्थ व्यक्तिहरुको सहभागिता थियो ।