काठमाडौं। गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाले कर्मचारीहरूको बोनसका लागि १० अर्ब ४० करोड ७० लाख रुपैयाँ छुट्याएका छन् । अघिल्लो आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले कर्मचारीहरूको बोनसको लागि ११ अर्ब ७६ करोड ६० लाख रुपैयाँ छुट्याएका थिए ।
बैंकिङ क्षेत्र जागिर आकर्षणको केन्द्रबिन्दु बन्नुको मुख्य कारण संस्थाले कर्मचारीलाई दिने अन्य रोजगारी प्रतिष्ठानभन्दा उच्च तलबसँगै नाफाको १० प्रतिशत बोनसले पनि हो ।
बैंक तथा वित्तीय संस्थाले छुट्याएको सो बोनसमध्ये वाणिज्य बैंकहरूले ९ अर्ब ४६ करोड २० लाख रुपैयाँ, विकास बैंकको ८४ करोड ४० लाख रुपैयाँ बोनस वापत छुट्याएका छन् भने फाइनान्स कम्पनीहरूले १० करोड १० लाख रुपैयाँ बोनसको लागि छुट्याएका छन् ।
धेरै बोनस बाड्नेमा पहिलो नबिल, दोस्रोमा ग्लोबल आईएमई
गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट कर्मचारीलाई सबैभन्दा बढी बोनस बाँड्नेमा ‘नम्बर वान’ नबिल बैंक र दोस्रो नम्बरमा ग्लोबल आईएमई बैंक परेको छ । नबिलले गत आर्थिक वर्षको नाफाबाट नबिल बैंकले १ अर्ब १९ करोड ८२ लाख रुपैयाँ कर्मचारीहरूको बोनसको लागि छुट्याएको छ भने ग्लोबल बैंकले १ अर्ब १२ करोड २६ लाख रुपैयाँ बोनसका लागि छुट्याएको छ ।
नबिल बैंकले कर्मचारीहरूको लागि कुल ३ अर्ब ४९ करोड ४४ लाख रुपैयाँ खर्च गरेको छ भने ग्लोबल बैंकले ३ अर्ब १ करोड ५० लाख रुपैयाँ कर्मचारीका लागि खर्च गरेको वा छुट्याएको हो । कर्मचारीहरूलाई बढी बोनस बाढ्नेको तेस्रो सूचीमा एनआईसी एशिया बैंक परेको छ । बैंकले गत आर्थिक वर्षमा कर्मचारीको बोनसको लागि ७१ करोड ९७ लाख रुपैयाँ छुट्याएको हो ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले कर्मचारी बोनसको लागि ५ अर्ब ५९ करोड ५० लाख रुपैयाँ छुट्याएको छ भने एनएमबि बैंकले ५ अर्ब ४२ करोड रुपैयाँ बोनस रकम छुट्याएको छ । एभरेष्ट बैंकले ५ अर्ब २३ करोड, ८५ लाख रुपैयाँ बोनस छुट्याउँदा सिद्धार्थ बैंकले ५ अर्ब १० करोड ९० लाख रुपैयाँ बोनस वापतको रकम छुट्याएको छ ।
४० करोडभन्दा बढी बोनस छुट्याउने बैंकमा प्रभु बैंक र सानिमा बैंक परेको छ । प्रभु बैंकले ४५ करोड २६ लाख रुपैयाँ र सानिमा बैंकले ४१ करोड १९ लाख बोनसको लागि रकम छुट्याएको छ ।
कर्मचारीको लागि ३० करोड रुपैयाँभन्दा माथि बोनस छुट्याउने बैंकमा सिटिजन्स बैंक, प्राइम बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, नेपाल एसबिआई बैंक र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक परेको छ ।
कुमारी बैंकले कर्मचारीको लागि ३६ करोड ९७ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले ३५ करोड ७८ लाख रुपैयाँ, लक्ष्मी बैंकले ३५ करोड ५० लाख, कुमारी बैंकले ३४ करोड १५ लाख, प्राइम बैंकले ३७ करोड ५ लाख र सिटिजन्स बैंकले ३३ करोड ४८ लाख रुपैयाँ कर्मचारीहरूको बोनस वापत रकम छुट्याएका छन् ।
माछापुच्छ«े बैंकले कर्मचारीका लागि २९ करोड ४७ लाख रुपैयाँ बोनस छुट्याएको छ भने सरकारी स्वामित्वका अन्य दुई बैंकमध्ये कृषि विकास बैंकले २४ करोड ४५ लाख रुपैयाँ र नेपाल बैंकले २३ करोड ६० लाख रुपैयाँ कर्मचारीहरूको बोनसको लागि छुट्याएको छन् ।