काठमाडौं । जीवन बीमा वापतको मोटो बीमांक रकम पाउने लोभमा बाराकी हजरा खातुनको हत्या गराउन सहयोगीको भूमिका खेलेका एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठसहितका विरुद्ध किटानी जाहेरी परेको छ ।
हत्या भएकी महिला हजरा खातुनको पिता शहिद देवानले छोरीको हत्यामा सम्लग्न दोषीममाथि अनुसन्धान गरी कानुनी कारवाही गरी पाउँ भनी जिल्ला प्रहरी कार्यालय कलैया बारामा किटानी जाहेरी दिएका हुन् ।
उनले दिएको किटानी जाहेरीमा एशियन लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, एशियन लाइल इन्स्योरेन्सका सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, एशियन लाइफ इन्स्यारेन्स कलैया शाखा प्रबन्धक सोनालाल सहनीलाई विपक्षी बनाइ खातुनका पिता देवानले किटानी जाहेरी दिएका हुन् ।
किटानी जाहेरीमा कसूर सम्बन्धी घटना विवरणलाई यसरी उल्लेख गरिएको छ –‘उपरोक्त सम्बन्धमा जिल्ला पर्सा विरगञ्ज महानगरपालिका वडा नं. १८ भवानीपुरमा रामजान देवानको नातिनी सहिद देवानको छोरी वर्ष १८ को उमेरमा मिति २०६४ सालमा जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं. २६ महेशपुरमा बस्ने राजा देवानको छोरा नाथु देवानसँग धार्मिक परम्परा अनुसार बिहे भएको र मिति २०६४ साल देखि वैवाहिक जीवन राम्रोसँग बित्दै आएको कुरा अवगत गराउन चाहन्छु । विगत केहि सालदेखि ज्वाँई नाथु देवानको व्यवसायीक कर्जाले घर तथा बाहिर पनि बेला बेलामा झै झगडा हुने गरेको थियो ।
नियम मिचेर भुक्तानी दिने र आफै सञ्चालक भएको बैंकको ऋण असुल गर्ने कार्यमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ दिनेशलाल श्रेष्ठ लेखा प्रमुख कमल ढुंगाना, अध्यक्ष दिपक श्रेष्ठ, कलैया शाखा प्रमुख सोनालाल सहनीसहित घटनामा चेक र सम्बन्धित कागजात हस्ताक्षर गर्ने अन्य कोहि भए सो व्यक्ति समेतलाई हत्यापछि सहयोगीको भूमिका खेलेको देखिन आयो ।
यसरी मेरी छोरीको बीमा रकम लिनकै लागि हत्या गरिएको हो । सो कार्यमा हत्यामा प्रत्यक्ष संलग्न व्यक्तिहरू र हत्यापछि बीमा रकम बाँडफाँड गर्नेमा क्रमशः अभियुक्तहरूलाई मेरी छोरीको हत्या वापतको रकम सहयोग पु्र्याउने कानुनकै उल्लंघन गरी रकम भुक्तानी गरिएकोले माथि उल्लेखित एशियन लाइपका संलग्न माथि उल्लेखित निज दोषीहरूमाथि आवश्यक अनुसन्धान गरी मेरी छोरीको हत्यापूर्व, हत्याको समय र हत्यापछि बीमाको पैसा बाँडफाँड गर्ने, आफै सञ्चालक भएको बैंकको ऋण असुल गर्ने दोषीहरू माथि कानुनी कारवाही गर्नको लागि यो निवेदन चढाएको छु । यसमा लेखिएको बेहोरो ठिक छ फरक ठहरे कानुन बमोजिम सहुला बुझाउला । प्रहरीद्वारा केश तहकिकात हुँदा वा अदालतका मुद्दा चल्दाका बखत उपस्थित हुनुपर्ने जनाउ पाए सो बमोजिम उपस्थित हुनेछ ।
दरखास्त वा सूचना दिनेको
सहिद देवान
इति सम्बत २०८० साल भदौ ०५ गते रोज ३ मा शुभम् ।
हत्या भएकी खातुनका पिता शहिद देवानले सो जाहेरी दिए पनि नेपाल प्रहरीका साथै नियामक निकायले घटनाको सत्य तथ्य छानबिन गर्न ढिला गरेको जाहेरी पक्षले बताएको छ । मेरी छोरीको हत्या गरेको हो भनेर मैले जाहेरी दिँदा समेत सम्बन्धित निकायबाट कुनै सहयोग नपाएको देवानले बताए ।