काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले २ लाख रुपैयाँको बैंकिङ तथा आर्थिक पुरस्कारको लागि आवेदन माग गरेको छ । नाफिजले एक सूचना जारी गरेर एक जनालाई प्रदान गरिने ‘शारदा ढुन्डीराज नाफिज आर्थिक पुरस्कार २०८०’ र २ जनालाई प्रदान गर्ने ५०\५० हजार रुपैयाँ राशिको ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार २०८०’ का लागि आवेदन माग गरेको हो ।
उक्त पुरस्कारहरू दावी गर्नको लागि नाफिज सदस्यहरूले २०७९ साउन १ गतेदेखि २०८० असार ३१ गतेसम्म आफू कार्यरत सञ्चारमाध्यममा प्रकाशन वा प्रसारण गरिएका खोजमूलक बाइनलाइनसहितको आर्थिक समाचार (‘शारदा ढुन्डीराज नाफिज आर्थिक पुरस्कार २०८०’) र खोजमूलक बैंकिङ समाचार (‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार २०८०’ ) सामग्री र आवद्ध सञ्चार संस्थाको परिचयको फोटोकपी २०८० भाद्र २३ गते शनिबारसम्म पेश गर्न अनुरोध नाफिजले गरेको छ ।
समाचार प्रकाशन तथा प्रसारण भइसकेपछि संस्था परिवर्तन गरिएको सन्दर्भमा पुरानो सञ्चार संस्थाको समाचारसमेत पेश गर्न सकिने छ । यो अवस्थामा हाल आवद्ध र पूर्ववत सञ्चार संस्था दुवैको परिचयपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।
आवेदकले नाफिजको आधिकारीक इमेल तथा आफै उपस्थित भएर नाफिजसचिवालयमा आवेदन बुझाउन सकिने छ ।