अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख : अर्थमन्त्री महत

गण्डकी । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख बनेकोे बताएका छन् । पोखरा पर्यटन परिषद्को वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले भूकम्प, कोभिडलगायत विभिन्न कारणले मुलुक अप्ठ्यारोबाट गुज्रिए पनि निराश बन्नुपर्ने अवस्था नरहेको बताए ।
नकारात्मक कुराले केबल आत्मविश्वास घटाउने भन्दै गर्दै उनले अलिकति समस्या आयो भन्दैमा निराश हुनु नहुनेमा जोड दिए । राजस्व संकलनको अवस्था गत आर्थिक वर्षको तुलनामा राम्रो भएको बताउँदै उनले राम्रा दिन आउनेतर्फ सकारात्मक छलफल सुरु गर्नुपर्नेमा जोड दिए ।
आर्थिक क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सरकार निरन्तर क्रियाशील रहेको बताउँदै अर्थमन्त्री डा. महतले पुँजीगत खर्चलाई प्रभावकारी ढंगले बढाउने बताए । पर्यटनलाई समृद्धिको महत्वपूर्ण आधारका रुपमा लिइएको बताउँदै उनले पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने उल्लेख गर्दै ट्रान्जिट धेरै भए पर्यटकीय गतिविधि बढ्ने बताए ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका सम्बन्धमा प्रदेश र संघीय सरकारले ध्यान दिएको बताए । पछिल्ला समयमा छोटिएका पदमार्गलाई कसरी विस्तार गर्ने सम्बन्धमा छलफल आवश्यक भएको बताउँदै उनले उत्पादन र रोजगारी वृद्धिलाई जोड दिनुपर्ने बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पाँच सय रुपैयाँ दरका भारतीय नोट नचल्दा भारतीय पर्यटक समस्यामा परिरहेको र त्यसले उनीहरूको आगमन प्रभावित भएको बताए । पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा चाँडो यसतर्फ ध्यान जानुपर्ने बताउँदै उनले निर्माणाधीन पोखरा–मुग्लिन सडकको ढिलाइका कारण पोखराको पर्यटनमा प्रत्यक्ष असर पारिरहेको बताए ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य देवका पहारी, परिषद्का निवर्तमान अध्यक्ष गोपीबहादुर भट्टराई, महासचिव सञ्जयकान्त सिग्देल, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे लगायतले बोलेका थिए । उक्त अवसरमा परिषद्का गतिविधिमा विभिन्न तवरबाट सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स