ताप्लेजुङ-काठमाडौं उडान तीन महिनापछि सुचारु, भाडादर पनि घट्यो

ताप्लेजुङ । नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौं सुकेटार उडान सुरु गरेको छ ।

खराब मौसमलगायतका कारण गत जेठ २४ गतेदेखि काठमाडौं सुकेटार उडान हुन सकेको थिएन । मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिए ।

लामो समयपछि भएको उडानमार्फत काठमाडौंबाट छ यात्री ताप्लेजुङ आएका छन् भने एक जना यात्री काठमाडौं गएका छन् । पहिलेकै उडान तालिकाअनुसार साताको सोमबार, बिहीबार र शनिबार नियमित उडान हुने उनले बताएका छन् । करिब एक हजार आठ सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ ।

यसअघिको तुलनामा उडानको भाडा दरसमेत घटाइएको छ । काठमाडौं ताप्लेजुङको भाडा यसअघि नौ हजार छ सय ५३ रूपैयाँ थियो भने हाल घटाएर आठ हजार छ सय रूपैयाँ कायम गरिएको छ । यस्तै ताप्लेजुङ काठमाडौंको भाडा यसअघि नौ हजार चार सय ५३ रूपैयाँ भएकोमा यसलाई घटाएर आठ हजार चार सय रूपैयाँमा झारिएको छ ।

मौसममा क्रमशः सुधार आएको र चाडबाड नजिकिएकाले नियमितरुपमा उडान हुने विमानस्थलको विश्वास छ । यस्तै पर्यटनको समेत सिजन लागेकाले यात्रुको अभावसमेत नहुने अनुमान गरिएको विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स