काठमाडौं । भारत सरकारले तीन देशका लागि चामल निर्यातमा लगाएको प्रतिबन्ध खुलाएको छ । भारतको विदेश ब्यापार महानिर्देशनालय (डीजीएफटी)ले एक सूचना जारी गर्दै भुटान, मौरिसस र सिंगापुरका लागि प्रतिबन्ध फुकुवा गरेको जनाएको हो।
भारत सरकारले यी तीन देशमा १ लाख ४३ हजार टन गैर बासमती चामल निर्यात गर्न अनुमति दिएको हो ।
डीजीएफटीले भुटानमा ७९ हजार टन गैरबासमती सेतो चामल, मरिससमा १४ हजार टन र सिंगापुरमा ५० हजार टन निर्यात गर्न स्वीकृत गरेको छ।
नेपाल सरकारले निर्यात प्रतिबन्ध खुलाइदिन पटक पटक अनुरोध गरेपनि नेपालमा भने निर्यात बन्देज रहेको छ । भारतले चामलको निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा चामलको भाउ ह्वात्तै बढेको छ ।
यस वर्ष पर्याप्त वर्षा नभएका कारण भारतमा धान उत्पादनमा कमी आएको थियो । जसका कारण भारतका स्थानीय बजारहरुमा चामलको भाउ बढेको थियो । चामलको उच्च मूल्यवद्धि नहोस् भन्ने मनसायले भारतले साउन ४ गतेदेखि नेपाललगायत अन्य देशहरुमा पनि बासमतीबाहेक अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।