काठमाडौं । बैंकहरूको आधार दर बढ्दा निक्षेप, कर्जाको भारित औसत ब्याजदर ५ वर्षयताकै महँगो देखिएको छ । २०७६ असारमा ६.६० प्रतिशत रहेको निक्षेपको भारित औसत ब्याजदर २०८० असारमा आइपुग्दा १.२६ प्रतिशतले बढेर ७.८६ प्रतिशत पुगेको छ भने कर्जाको भारित औसत ब्याजदर १२.१६ प्रतिशतबाट बढेर १२.३० प्रतिशत पुगेको छ । त्यसरी नै ५ वर्षमा आधार दर पनि ०.२५ प्रतिशतले बढेर १०.०३ प्रतिशत पुगेको छ ।
विगत ५ वर्षको तथ्यांकलाई केलाउँदा अन्य वर्षमा यी तीनै सूचकको ग्राफ घटेको देखिए पनि गत आर्थिक वर्षमा भने बढेको छ । गत आर्थिक वर्षमा निक्षेपको भारित औसत ब्याजदर ७.८६ प्रतिशत पुगेको छ भने कर्जाको यस्तो ब्याजदर १२.३० प्रतिशत पुगेको छ । आधार दर बढेर १०.०३ प्रतिशत पुगेको छ ।
यो ५ वर्षमा सबैभन्दा कम ब्याजदर तथा आधार दर २०७८ असारमा रहेको छ । त्यति बेला कोरोना भाइरसका कारण विश्व नै आक्रांन्त भएको थियो । सोहि कारण घरेलु बजार पनि त्यसैको सफर हुँदा कलकारखाना सञ्चालनमा आएको थिएन । उद्योग धन्दा बन्द थिए । बैंकमा निक्षेपको रुपमा पैसा आएपनि कर्जा प्रवाह हुन सकेन । त्यहि कारणले बजारमा अधिक तरलताको अवस्था थियो र बैंकहरूले सस्तोमा कर्जा उपलब्ध गराउनुका साथै निक्षेप समेत सस्तोमा लिएका थिए । यहि कारणले त्यतिबेला बैंकको बेसरेट पनि घटेको तथ्यांकले देखाएको छ ।
२०७८ असारमा निक्षेपको भारित औसत ब्याजदर ४.७६ प्रतिशत रहेको छ भने कर्जाको ब्याजदर ८.४३ प्रतिशत रहेको छ । २०७८ असारमा ६.८७ प्रतिशत रहेको छ ।
२०७७ असारमा २०७६ असारको भन्दा निक्षेप, कर्जाको भारित औसत ब्याजदर घटेको ग्राफ बनेको छ । उक्त वर्षमा निक्षेपको भारित औसत ब्याजदर ६.०१ प्रतिशत रहेको छ भने कर्जाको यस्तो द। १०.११ प्रतिशत र आधारदर ८.५० प्रतिशत रहेको छ । २०७९ असारदेखि माथि उक्लन थालेको ब्याजदर आधार दर गत आवमा भने ५ वर्षयताकै उच्च विन्दुमा पुगेको हो । २०७९ असारमा निक्षेपको भारित औसत ब्याजदर ७.४१ प्रतिशत, कर्जाको ११.६२ प्रतिशत र आधारदर ९.४५ प्रतिशत रहेको छ ।
गत आवमा यस्तो रह्यो भारित औसत ब्याजदर र आधार दर
२०७९ साउनमा ७.४६ प्रतिशत रहेको निक्षेपको भारित औसत ब्याजदर २०८० असारमा आइपुग्दा बढेर ७.८६ प्रतिशत पुगेको छ । साउन महिनाको तुलनामा भर्दा असोज, कार्तिक, मंसिर, पुसमहिनासम्म निक्षेपको भारित औसत ब्याजदर बढ्दै गएको थियो । पुस, लागेपछि निक्षेपको ब्याजदरको ग्राफ तल झर्न सुरु गरेको हो । पुस महिनामा ८.४१ प्रतिशत रहेको निक्षेपको भारित औसत ब्याजदर माघ महिनामा १० अंकले घटेर ८.४१ प्रतिशतमा सीमित भएको थियो । फागनुमा सो ब्याजर ८.३७ प्रतिशत, चैतमा ८.२६ प्रतिशत, वैशाखमा ८.०८ प्रतिशत , जेठमा ७.९९ प्रतिशत र असारमा फेरि बढेर ७.८६ प्रतिशत पुगेको हो ।
त्यसै गरी कर्जाको औसत भारित दर पनि २०७९ साउनमा ११.९४ प्रतिशत रहेको थियो । भदौमा १२.०६ प्रतिशत, असोजमा १२.१९ प्रतिशत, कार्तिकमा १२.६५ प्रतिशत, मंसिरमा १२.७४ प्रतिशत, पुसमा १२.७९ प्रतिशत पुगेको छ । फागुनमा १३.०३ प्रतिशत पुगेको कर्जाको भारित औसत ब्याजदर चैतमा केहि घटेर १२.८४ प्रतिशतमा सीमित भएको छ । बैशाखमा सो ब्याजदर १२.६५ प्रतिशतमा झरेको छ भने जेठमा १२.५३ प्रतिशत र असारमा १२.३० प्रतिशत रहेको छ । फागनु महिनमा माथिल्लो विन्दुमा पुगेको ब्याजदर चैतदेखि क्रमशः घट्दै असारमा केहि घटेको हो ।
विशेष गरेर आधार दरकै आधारमा ब्याजदर निर्धारण हुने हुँदा पुससम्म आधार दर बढे पनि माघदेखि आधारदर पनि विस्तारै घट्दै आएको छ । २०७९ साउनमा ९.६४ प्रतिशत रहेको आधार दर क्रमशः बढ्दै १०.९२ प्रतिशतसम्म पुगेर गत असारमा १०.०३ प्रतिशतमा खुम्चिएको छ ।