काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओमा तेस्रो दिनसम्म ६ गुणाबढी आवेदन परेको छ । मंगलबार साँझ ५ः१२ बजेसम्ममा ७ लाख २२ हजार १५९ आवेदकले ७९ लाख ३१ हजार कित्ताको लागि आवेदन दिएको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।
जुन कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको १२ लाख ५ हजार ३ सय २० कित्ता सेयरको ६.५८ गुणा हो ।
कम्पनीले भदौ १० गतेदेखि सर्वसाधारणलाई १२ लाख ५ हजार ३ सय २० कित्ता सेयर निष्काशन गरेको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गरेको हो । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। लगानीकर्ताले भदौ १३ गतेसम्म आवेदन दिन सक्ने छन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
कम्पनीले यस अघि नै आयोजना प्रभावित ललितपुर र मकवानपुर जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।
कम्पनीले मकवानपुर जिल्लाको कोगटे स्थित इपामा २२ मेगावाट क्षमताको बागमती नदी जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन शुरु गरिसकेको छ ।