अउडीको क्यू फोर ३५ ई-ट्रोनको दुई भेरियन्ट नेपाल भित्रियो, कति छ मूल्य ?

काठमाडौं । जर्मनी विलासी कार अउडी आधिकारिक रुपमा नेपाल भित्रिएको छ ।

काइरोस इन्टरनेसनल काठमाडौंले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै अउडीको ‘क्यू फोर ई-ट्रोन ३५ र क्यू फोर ई-ट्रोन ३५ स्पोर्टब्याक’ गाडी सार्वजनिक गरेको छ ।

अउडीले उत्पादन गरेका यी दुई मोडलको विद्युतीय कार (ईभी) सार्वजनिक गरेको हो ।

सूरुवाती चरणमा काइरोसले अउडीको क्यू फोर ३५ ई-ट्रोनको दुई भेरियन्ट नेपाल ल्याएको छ । यी विद्युतीय कारमा ५५ किलोवाट आवरको लिथियम आयन ब्याट्री रहेको छ । उक्त कारमा रहेको मोटरको पिकपावर १ सय २५ किलोवाट रहेको छ ।

अउडीको यो कारले एक पटकको फुल चार्जमा ३ सय ४९ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।अउडीको विद्युतीय कारमा नयाँ तथा आधुनिक फिचरहरू समावेश भएको काइरोस इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनोद श्रेष्ठले बताए । जर्मनीमा उत्पादित उच्च गुणस्तरीय विद्युतीय कार नेपाली उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले अउडीका विद्युतीय कार नेपाल भित्र्याएको श्रेष्ठले बताए ।

यी दुवै मोडलका गाडीको ग्राउन्ड क्लियरेन्स १८० मिलिमिटर छ । क्यू फोर ई-ट्रोन ३५ को व्हील साइज २० इन्च छ भने स्पोर्टब्याक क्यू फोर ई-ट्रोन ३५ को व्हील साइज १९ इन्च रहेको छ ।

कम्पनीका अनुसार उक्त कार ६ वटा रङमा उपलब्ध छन् । सो गाडी १६० किलोमिटर प्रति घण्टाको रफ्तारमा दौडन सक्छ ।‘हामीले गाडी सार्वजनिक गरेसँगै बुकिङ पनि खुल्ला गरेका छौं, आजैबाट गाडी बुक गर्न सक्नु हुनेछ, बुकिङ गरेको तीन महिनाभित्र गाडी उपलब्ध गराउँछौं, गाडी टेस्लाको सोरुममा गएर बुक गर्न सकिने छ,’ उनले भने ।

काइरोसले उपलब्ध गराएको अउडी क्यू फोर ३५ ई-ट्रोनको नेपाली बजार मूल्य १ करोड ४५ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै अउडीको क्यू फोर ३५ ई-ट्रोन स्पोर्टब्याक भेरियन्टको मूल्य भने १ करोड ५० लाख रुपैयाँ निर्धारण गरिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स