घट्यो वैदेशिक व्यापार, साढे एक खर्बको आयात हुँदा १४ अर्ब ८० करोड निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको वैदेशिक व्यापार २. २८ प्रतिशतले घटेको छ । गत आवको पहिलो महिनामा १ खर्ब ४६ अर्ब नौ करोड ५७ लाख ६६ हजार रहेको वैदेशिक व्यापार यस वर्षको साउनमा १ खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २७ हजार कायम भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको तथ्यांकअनुसार गत वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा आयात एक दशमलव ५६ प्रतिशतले घटेर १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार पुगेको छ ।

गत आवको पहिलो महिनामा एक खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजारको आयात भएको थियो । तथ्यांकनुसार साउनमा वैदेशिक व्यापारमा आयातको अनुपात ९०.५२ प्रतिशत रहेको छ ।

त्यस्तै सार्वजनिक विवरणअनुसार गत आवको पहिलो महिनाको तुलनामा यस आवको सोही अवधिमा निर्यात ८.६५ प्रतिशतले घटेको छ । गत आवको सुरुको महिनामा १४ अर्ब ८० करोड ९७ लाखको निर्यात भएकोमा चालु आवको समीक्षा अवधिमा १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजारको निर्यात भएको छ । विभागका अनुसार यो अवधिमा कूल वैदेशिक व्यापारमा निर्यातको अनुपात ९.४८ प्रतिशत रहेको छ ।

एक खर्ब १५ अर्बको व्यापार घाटा

विभागका अनुसार चालु आवको पहिलो महिनामा मुलुकको व्यापार घाटा ०.६६ प्रतिशतले घटेर १ खर्ब १५ अर्ब ७१ करोड तीन लाख १५ हजार कायम भएको छ । गत आवको पहिलो महिनामा व्यापार घाटा १ खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजार थियो ।

आयातमा सबैभन्दा बढी डिजेल

मुलुकको वैदेशिक व्यापारमा मूख्यरूपमा प्रभाव पार्ने पेट्रोलियम पदार्थ नै यस अवधिमा समेत प्रमुख आयात हुने वस्तुमा परेको छ । विभागको तथ्यांकनुसार एक महिनामा ७ अर्ब ३४ करोड ७१ लाख २५ हजार बराबरको डिजेल आयात भएको छ । यो आयातमध्यकै बढी हो । त्यस्तै यस अवधिमा ५ अर्ब ४४ करोड ७० लाख ७६ हजारको पेट्रोल आयात भएको तथ्यांकमा उल्लेख छ ।

निर्यातमा सबैभन्दा बढी अलैँची

नेपालबाट निर्यात भएको वस्तुमध्ये गत एक पहिनामा अलैँची सबैभन्दा धेरै देखिएको छ । विभागका अनुसार नेपालबाट ९६ करोड ४६ लाख छ हजारको अलैँची निर्यात भएको छ । त्यस्तै चालु आवको पहिलो महिनामा ९५ करोड ६६ लाख ३९ हजार बराबरको उनीको गलैँचा तथा कार्पेट निर्यात भएको विभागको तथ्यांक छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स