काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वका अवसरमा सार्वजनिक विदा दिने भएको छ । प्रदेश सरकारले भोलि भदौ ६ गते गौरा पर्वका अवसरमा सुदूरपश्चिम प्रदेशका जिल्लाभरि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गौरा सुदूर पश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो । गौरा पर्व विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो । गौरा पर्व भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ।
अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ। सुदूपश्चिमेलीहरूले धुमधामका साथ मनाइने गौरापर्व भाद्र कृष्ण पञ्चमीदेखि सुरु हुने गर्दछ।