सातामा ४ दिनमात्रै बजार खुल्दा ह्वात्तै घट्यो नेप्से कारोबार

काठमाडौं । यो साता ४ दिन मात्र सेयर कारोबार भएको छ । सातामा ४ कारोबारको दिनमात्रै बजार खुल्दा कारोबार रकममा ह्वात्तै गिरावट आएको छ । साताको ५ कारोबारका दिनमध्ये १ दिन नहुँदा यसको असर सेयर बजारमा देखिएको हो ।
गत साता ५ दिन कारोबार हुँदा २६ अर्ब ९ करोड ५१ लाख ६३ हजार बराबरको ५ करोड ५२ लाख २२ हजार ६४८ कित्ता सेयर कारोबार भएको थियो । यो साता १० अर्ब ८५ करोड ६० लाख ७१ हजार बराबरको २ करोड ४५ लाख ८८ हजार ४६६ कित्ता कम सेयर कारोबार भएको हो ।
सातामा पाँच दिन सञ्चालक हुँदै सेयर बजार बिहीबार घटस्थापनाको सार्वजनिक विदाका कारण चार दिनमात्र सञ्चालन भएको हो ।

यो साता भएको ४ कारोबार दिनमा यो साता दुई दिन बजार बढेको छ भने दुई दिन घटेको छ । पहिलो कारोबार दिन आइतबार ५५ दशमलव ९३ र दोस्रो दिन ६ दशमलव ६८ अंकले घटेको बजार तेस्रो दिन ४१ दशमलव ८४ अंक र चौथो दिन ६८ दशमलव ४७ अंकले बढेको हो ।

गत साताको अन्तिम कारोबार दिन २ हजार ६३३ दशमलव ४२ विन्दुमा रहेको नेप्से परिसूचक यो साता ४७ दशमलव ६९ अंक माथि उक्लिएर २ हजार ६८१ दशमलव ११ विन्दुमा पुगेको छ ।

यो साता नेप्से परिसूचक न्यूनतम २ हजार ५४२ दशमलव शून्य ९ विन्दुसम्म झरेको थियो । ३ हजार २०० विन्दुमाथि पुगेको सेयर बजार पछिल्लो समय नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिपश्चात प्रभावित बनेको थियो ।

पछिल्लो दुई दिनको कारोबारलाई हेर्दा सूचीकृत कम्पनीहरुले सार्वजनिक गरेका गत वर्षको लाभांशका कारण लगानीकर्ता उत्साहित भएको देखिन्छ । हालसम्म सात वाणिज्य बैंक सहित डेढ दर्जनभन्दा बढी कम्पनीहरुले गत वर्षको लाभांश प्रस्ताव गरिसकेका छन् । अधिकांश कम्पनीहरुले यस वर्ष बढाएर आकर्षक लाभांश प्रस्ताव गरेसँगै बजारमा पुनः आफ्नै लयमा फर्कने आशा लगानीकर्ताहरूले गरेका छन् ।

गत साता १५ अर्ब २३ करोड ९० लाख ९२ हजार बराबरको ३ करोड ६ लाख ३४ हजार १८२ कित्ता सेयर खरीद बिक्री भएको छ । कारोबार रकम र कित्ता भने गत साताभन्दा कम भएको हो ।

गत साताभन्दा यो साता कुल बजार पूँजीकरण रकम ६६ अर्ब ७५ करोड २० लाख १४ हजारले बढेको छ । गत साताको अन्तिम कारोबार दिन ३६ खर्ब ८६ अर्ब ३३ करोड ८३ हजार रहेको कुल बजार पूँजीकरण रकम यो साता ३७ खर्ब ५३ अर्ब ८ करोड २० लाख ९७ हजार कायम भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स