मूल्यवृद्धिले वाञ्छित सीमा नाघ्यो, अघिल्लो वर्षभन्दा १.४२ प्रतिशतले बढ्यो महँगी

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० को औसत वार्षिक मूल्यवृद्धि ७ दशमलव ७४ प्रतिशत रहेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवका लागि राखिएको मुद्रास्फीतिको वाञ्छित सीमा नाघेको देखिएको हो ।

गत आवका लागि सरकारले वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेकोमा ७ दशमलव ७४ प्रतिशत पुगेको देखिएको हो । अघिल्लो आव यस्तो मुद्रास्फीति ६ दशमलव ३२ प्रतिशत थियो । जुन अघिल्लो वर्षभन्दा १.४२ प्रतिशतले बढी हो ।

अघिल्लो आवको तुलनामा आवमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेष्टुराँ तथा होटल उप–समूहको मूल्यवृद्धि १४ दशमलव ४२, मरमसलाको १२ दशमलव ५०, खाद्य तथा खाद्यजन्य पदार्थको १० दशमलव ७०, सुर्तीजन्य पदार्थको नौ दशमलव ८८ र दुग्ध पदार्थ तथा अण्डाको नौ दशमलव २३ प्रतिशत छ ।

साथै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको मूल्यवृद्धि १३ दशमलव ५०, मनोरञ्जन तथा संस्कृतिको १० दशमलव १८, स्वास्थ्यको १० दशमलव ०१, शिक्षाको आठ दशमलव ७९ र घरायसी उपयोगका वस्तुको ८ दशमलव ६५ प्रतिशत छ ।

गत आवमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६ दशमलव ६२ प्रतिशते छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति पाँच दशमलव ६९ प्रतिशत थियो । २०८० असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ३८ प्रतिशत छ ।

गत आवमा गैरखाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ८ दशमलव ६२ प्रतिशत रहेको छ । अघिल्लो आव उक्त समूहको यस्तो मुद्रास्फीति ६ दशमलव ८३ प्रतिशत थियो । गत असार महिनामा मात्र गैरखाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७ दशमलव ४८ प्रतिशत देखिएको छ । जबकि, २०७९ असार महिनामा उक्त समूहको यस्तो मुद्रास्फीति ९ दशमलव ०३ प्रतिशत थियो ।

गत आवमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ७ दशमलव ५५, तराईमा आठ, पहाडमा ७ दशमलव ५६ र हिमालमा ७ दशमलव १२ प्रतिशत छ । अघिल्लो आव उक्त क्षेत्रमा यस्तो मुद्रास्फीति क्रमशः ५ दशमलव ७३, ६ दशमलव ४१, ६ दशमलव ८७ प्रतिशत र ६ दशमलव ०७ प्रतिशत थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स