नीतिगत स्थिरता भए मात्र लगानी बढाउन सकिन्छः अध्यक्ष ढकाल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्तरिक तथा बाह्य दुवै लगानी वृद्धिका लागि नीतिगत स्थिरता आवश्यक रहने बताएका छन्। जनकपुरधाममा बुधबार नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेश कार्यालयको भवन उद्घाटन समारोहमा अध्यक्ष ढकालले लगानीका लागि नीतिगत स्थिरता जरुरी रहेको बताए।

‘नीतिगत अस्थिरताले गर्दा लगानीमैत्री वातावरण बन्न सक्दैन। कुनै पनि मुलुकको कानुन, नीति अस्थिर भयो भने स्वदेशी होस् वा विदेशी दुवै लगानी भित्र्याउन सकिँदैन। त्यसैले हामीले सबैभन्दा पहिले नीतिगत स्थिरता बनाउन जरुरी हुन्छ। तब मात्र लगानी भित्र्याउन सकिन्छ र लगानीले प्रतिफल पाउने अवस्था पनि रहन्छ,’ उनले भने।

महासंघमा नयाँ कार्यसमिति आइसकेपछि विभिन्न फोरमबाट लगानीको वातावरण बनाउन पहल गरिरहेको बताउँदै अध्यक्ष ढकालले लगानीमैत्री वातावरण बन्न सकेमा आन्तरिक वा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन समस्या नहुने पनि बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको समयमा नेपाली उद्योगी व्यवसायीहरूको नेतृत्व गर्दै महासंघले भारतीय उद्योगी व्यवसायीहरूसँग दुई देशबीच लगानी तथा व्यावसायिक सम्बन्धमा छलफल भएको पनि उनले बताए। अध्यक्ष ढकालले लगानीको वातावरण बनेमा भारतीय लगानी विस्तार गर्न सकिने उल्लेख गरे।

“प्रधानमन्त्रीको भ्रमणको समयमा नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले संयुक्तरुपमा आयोजना गरेको बिजनेस फोरममा दुई देशका व्यवसायीहरुबीच पनि सौहार्दपूर्ण छलफल भएको थियो। नेपालका प्रधानमन्त्रीज्यू, दुई देशका मन्त्रीज्यूहरू, प्रतिष्ठित उद्यमी व्यवसायीहरूको उपस्थिति र गहल छलफलबाट दुई देशबीच व्यावसायिक सम्बन्ध विस्तार गर्न सहयोग पुग्नेछ भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने।

बंगलादेशमा आयोजना भएको बिम्स्टेक सदस्य राष्ट्रहरूको छलफलबाट बिम्स्टेक बिजनेस फोरम गठनदेखि सदस्य राष्ट्रहरूबीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको समेत जानकारी दिए।

अहिलेको जटिल आर्थिक परिस्थितिमा निजी क्षेत्रको एउटै आवाज बनाएर राज्य र यसका अन्य निकायसँग पैरवी गर्ने काम भइरहेको बताउँदै उनले निजी क्षेत्रका तीन वटा छाता संगठनहरुले बजेट तथा मौद्रिक नीतिमा साझा धारणा बनाई सरकार तथा नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको बताए।

मुलुकमा लगानीमैत्री वातावरण बनाउन पुराना कानुनी जटिलताहरूलाई बिस्तारै परिमार्जन गर्न जरुरी रहेको समेत उनको भनाई छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स