२२ दिनमा १२२ अर्बले घट्यो निक्षेप, के हुन्छ भदौ महिनामा बैंकको ब्याजदर ?

काठमाडौं । साउन महिनाको २२ दिनमा १ खर्ब २२ अर्बले निक्षेप घटेको छ । असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा ५७ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप थियो । साउन २२ गते आइपुग्दा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप घटेर ५६ खर्ब १८ अर्ब रुपैयाँ रहेको थियो ।

साउन पहिलो सातासम्म ५६ खर्ब ३६ अर्ब ६० करोड रहेको निक्षेप साउन १५ गतेसम्म घटेर ५६ खर्ब १८ अर्ब ४० करोड रुपैयाँमा खुम्चिएको छ । साउन तेस्रो साता भने निक्षेप संकलनमा केहि सुधार आएर ५६ खर्ब २५ अर्ब पुगेको नेपाल राष्ट्र बैंकका सह प्रवक्ता दिल्लीराम पोखरेलले जानकारी दिए । ‘असारमसान्तको तुलनामा साउनमा निक्षेप घटेको छ,’ उनले भने ।

नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसीले सरकारी पैसा निकाल्दा निक्षेप घटेको देखिएको बताए । ‘साउनमा करिब ९० अर्ब रुपैयाँ निकालिएको छ । यो कटाउँदा त्यति धेरै निक्षेप झिकिएको हैन । निक्षेप घट्दा फेरि बैंकले ब्याज बढाउँछन् भन्ने होइन। प्रतिस्पर्धामा जाँदा केहि तलमाथि होला, तर भदौमै बढ्छ भन्ने छैन ।

अहिलेसम्म तरलता सहज छ । हामीले ब्याजदर खुला छोडिदिएका छौं । यो बैंकहरूले गर्ने निर्णय भयो । प्रतिस्पर्धामा गएर निक्षेप खोसाखोस हुने अवस्था हालसम्म नदेखिएको अध्यक्ष केसीले बताए ।

साउन महिना लागेपछि बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा ३० करोड रुपैयाँले घटेको छ । असारमसान्तमा ४८ खर्ब ५४ अर्ब ९० करोड कर्जा प्रवाह भएकोमा साउन तेस्रो सातासम्म कर्जा प्रवाह घटेर ४८ खर्ब ५४ अर्ब ३० करोडमा सीमित भएको छ ।

साउन पहिलो साता कर्जा प्रवाहमा केहि सुधार देखिएपनि दोस्रो साता करिब २ अर्ब रुपैयाँले कर्जा घटेको थियो । साउन २२ गते बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ८३ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स