दुर्गा प्रसाई र ठूला ठेकेदारले पैसा नतिर्दा बिग्रियो कुमारी बैंकको वित्तीय विवरण

काठमाडौं । अस्ति साउन २१ गते बैंकहरूले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरे । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा कुमारी र हिमालयन बैंक नगेटिभ ग्रोथमा देखियो भने अन्य तीन बैंकको विवरण पनि त्यति सन्तोषजनक देखिएन । अर्थात २० वाणिज्य बैंकमध्य सबैभन्दा कमजोर वित्तीय विवरण कुमारी बैंकले सार्वजनिक गरेको छ भने त्यसपछि हिमालयन बैंकको वित्तीय कमजोर देखिएको छ ।

कुमारी बैंक नोक्सानीमा जानुको प्रमुख कारण सरकारले ठेकेदारको पैसा भुक्तान नगर्नु एउटा हो भने अर्को कारण मेडिकल व्यवसायी दुर्गा प्रसाईले बैंकबाट लिएको कर्जाको सावा ब्याज भुक्तान नगर्नु प्रमुख कारण हो । कुमारी बैंकबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईले कुमारी बैंकबाट १ अर्ब कर्जा लिएका छन् । पुसयता उनले कर्जाको ब्याज समेत भुक्तान गरेका छैनन् । बैंकको कर्जा तिर्न नपर्ने भन्दै अरुलाई समेत उस्काउँदै हिडेका प्रसाईले बैंकबाट लिएको १ अर्ब रुपैयाँको ब्याजसमेत नर्तिदा बैंकको खराब कर्जा बढेको हो ।

कुमारी बैंकसँग मर्जरमा गएको नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको पनि पूर्वाधार क्षेत्रमा ठूलो लगानी छ । बैंकबाट ठूला ठेकेदारले लिएको कर्जा सरकारले भुक्तान नगर्दा उनीहरूले विगत १ वर्षदेखि कर्जाको सावा ब्याज दुबै तिर्न सकेका छनन् ।

दुई बैंक एक आपसमा गाभिएर बनेको कुमारी बैंकले ठेकेदारहरूसँग ३ अर्ब कर्जा उठाउन बाँकी छ । यसको ब्याज समेत नतिर्दा बैंकको विवरणयोग्य नाफा नै नेगेटिभ भएको छ । त्यसैगरी बैंकबाट सुमेरु कोअपरेटिभले एक अर्ब रुपैयाँ कर्जा लिएको छ । सो कर्जाको ब्याज नियमित उठेपनि ऋण भने उठन सकेको छैन । सोही कारण बैंकको वित्तीय विवरण खराब देखिएको हो ।

बैंकले गत आर्थिक वर्षमा सम्भावित कर्जा नोक्सानीको लागि मात्रै करिब ५ अर्ब ७३ करोड ५८ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ । बैंकले सार्वजनिक गरेको सो तथ्यांकले बैंकको निष्क्रिय कर्जा बढेको प्रमाणित गरेको हो ।

बैंकको मर्जर अगाडिको सञ्चित नोक्सानी २ अर्ब ४० लाख रुपैयाँ देखाएको छ । सो कारण बैंकको वित्तीय विवरण सञ्चित नोक्सानीमा देखिन्छ । कुमारी बैंकको खराब कर्जा एक वर्षमा ३.६६ प्रतिशत बिन्दुले बढेर ४.७७ प्रतिशत पुगेको छ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा भने ८४ करोड ८३ लाख ऋणात्मक देखिएको छ ।

दुबै बैंककले वितरणयोग्य प्रतिसेयर आम्दानी ३ रुपैयाँभन्दा धेरैले ऋणात्मक देखिएको छ । बैंकले नाफा कमाएपनि अन्य नोक्सानी व्यहोर्दा लाभांश वितरण गर्न नसक्ने देखिएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स