काठमाडौं । हिजो साउन २१ गतेसम्म वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । २० वाणिज्य बैंकमध्य सबैभन्दा कमजोर वित्तीय विवरण कुमारी बैंकले सार्वजनिक गरेको छ भने त्यसपछि हिमालयन बैंकको वित्तीय कमजोर देखिएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक प्राइम कमर्शियल बैंकको पनि खराब कर्जा बढ्दा वित्तीय विवरण बिग्रिएको छ । यी बैंकमध्य प्राइम कमर्शियल बैंकले मात्रै ठूला बैंकलाई मर्जर तथा एक्विजिशन गरेको छैन । केही बैंकले निष्क्रिय कर्जा व्यवस्थापन गर्दै नाफा बढाएका छन् भने केही बैंकमा मर्जको कारणले नाफा बढेको देखिए पनि बैंकहरूको लाभांश क्षमता कमजोर देखिएको छ ।
पछिल्लो समय ६ वटा वाणिज्य बैकहरु मर्जर भएर आफ्नो अस्तित्व गुमाएका छन् । मर्जर भएको एनसीसी, मेगा, सनराइन, सिभिल, सेञ्चुरी र बैंक अफ काठण्माडूलाई मर्जर तथा एक्विजिशन गरेका बैंकहरू नाफामा वृद्धि भएपनि बैंकहरूको लाभांश क्षमता कमजोर देखिएको छ । मर्जर गरेर एकीकृत कारोबार गरेका बैंकहरूमध्य लक्ष्मी सनराइज बैंकले केहि राम्रो गरेको छ । तर, अन्य बैंकको अवस्थामा भने केहि न केहि रुपमा असर परेको नै छ ।
बैकर पुर्शराम क्षेत्री कुँवरले भने मर्जर तथा एक्विजिशनकै कराण बैंकहरूको ब्यालेन्स सिट बिग्र्रिएको हो भने ती बैंकहरूले राम्रोसँग काम गरेका रहेनछन् भन्ने बुझ्नु पर्ने बताए । अहिले बैंकको बुक नै बिग्रिएको छ । नबिल बैंकको खराब कर्जा बढेर माथि उक्लिएको छ भने अन्य बैंकको अवस्था पनि उस्तै भएको उनले औल्याए ।
‘लोन लस प्रोभिजिङको कारणले एनपीएल बढेको हो,’ उनले भने ‘औसतमा ३.०४ प्रतिशतमात्रै एनपीएल हो, आत्तिनु पर्ने अवस्था छैन । कहिले काही अर्थतन्त्र बिग्रदा यस्तो अवस्था आउँछ । सुधार हुन थालेपछि यो घट्छ ।’ गत आवमा ३४ अर्बभन्दा माथि लोन लस प्रोभिजन गर्न परेको कारणले दवाव देखिएको उनले बताए ।
मर्जरमा गएका बैंकहरूमध्य २ वटा बैंक सञ्चित नोक्सानीमा छन् भने ३ वटा बैंकको लाभांश बाँड्ने क्षमता देखिंदैन । हिमालयन बैंकले ७१ करोड १४ लाख सञ्चित नोक्सानीमा रहेको वित्तीय विवरण प्रकाशित गर्दा कुमारी बैंकले भने करिब ८४ करोड ८३ सञ्चित नोक्सानी रहेको वित्तीय विवरण प्रकाशित गरेको छ । गत आर्थिक वर्षमा कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर भई एकीकृत कारोबार सुरु भएको थियो भने हिमालयन बैंकले सिभिल बैंकलाई एक्युजिशन गरेको थियो ।
मर्जरमा गएका बैंकका कर्मचारी, व्यवस्थापकबीच आन्तरिक व्यवस्थापन मिलेको छैन । बैंकभित्र भएको आन्तरिक द्वन्द्वको कारण कर्मचारीले मन लगाएर कार्य सम्पादन नगर्दा त्यसको असर बैंकहरूको वित्तीय विवरणमा देखिएको हो । मर्जरमा गएका बैंकहरूले राम्रो प्रफरमेन्स दिन नसक्नु अर्को पाटो हो खराब कर्जा पहिला नै बढी हुुनु हो ।
कुमारी बैंक र एनसीसी बैंक मर्जर भई बनेको कुमारी बैंकले सम्भावित कर्जा नोक्सानीको लागि मात्रै करिब ५ अर्ब ७४ करोड रुपैयाँ प्रोभिजनिङ गरेको छ । जसले गर्दा बैंकको निष्क्रिय कर्जा बढेको छ । बैंकको मर्जर अगाडिको सञ्चित नोक्सानी २ अर्ब ४० लाख रुपैयाँ देखाएको छ । सो कारण बैंकको वित्तीय विवरण सञ्चित नोक्सानीमा देखिन्छ । सोहि कारण कुमारी बैंकको खराब कर्जा एक वर्षमा ३.६६ प्रतिशत बिन्दुले बढेर ४.७७ प्रतिशत पुगेको छ ।
हिमालयन बैंकमा गाभिएको सिभिल बैंकको २ अर्ब ६० करोड रुपैयाँ घाटा एड्जस्टमेन्ट गरेको छ । बैंकले कर्जा लगानीमा धितोले धान्ने भन्दै ऋण राइटअपको लागि १ अर्ब ७ करोड रुपैयाँ गैर सञ्चालन खर्चमा देखाएको छ । जसले गर्दा बैंकको वित्तीय विवरण प्रभावित भएको हो । स्ट्यान्डर्ड चार्टर्ड बैंककै खराब कर्जा १ प्रतिशतभन्दा माथि गएकोले अहिले अवस्था नै त्यस्तै भएको उनको भनाइ छ ।
बैंकले सिभिल बैंकलाई गाभ्दा आएको स्वाप रेसियो बार्गेन पर्चेज नभई गुडविलको रुपमा आएको र त्यसलाई रिजर्भमा समायोजन गरिएको बताएको छ । हिमालयन बैंकको खराब कर्जा २.९८ प्रतिशत बिन्दुले बढेर ४.५७ प्रतिशत पुगेको छ ।
मर्जरमै गएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकको पनि वित्तीय विवरण सन्तोषजनक छैन । नेपाल इन्भेष्टमेन्ट मेगाको वितरणयोग्य नाफा करिब १५ करोड ८३ लाख रुपैयाँ मात्रै छ । प्रभु बैंकको वितरणयोग्य मुनाफा १६ करोड १६ लाख रुपैयाँ रहेको छ । मर्जर नगएको प्राइम कमर्सियल बैंकको पनि वितरणयोग्य मुनाफा दबाबमा देखिएको छ । बैंकको वितरणयोग्य मुनाफा २० करोड मात्रै छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खराब कर्जा १.२७ प्रतिशत बिन्दुले बढेर २.७२ प्रतिशत पुगेको छ ।
यस्तो बैंकको खराब कर्जा
गत आर्थिक वर्षमा ५ वाणिज्य बैंकको खराब कर्जा मात्रै ४ प्रतिशतभन्दा माथि पुगेको छ । प्राइम २.४६ प्रतिशत बिन्दुले बढेर ४.२३ प्रतिशत र प्रभु बैंकमा २.३ प्रतिशत बिन्दुले बढेर ४.१६ प्रतिशत पुगेको हो ।
नबिल बैंकमा १.६ प्रतिशत बिन्दुले बढेर ३.२३ प्रतिशत, सिटिजन्स ०.९७ प्रतिशत बिन्दुले बढेर ३.१९६ प्रतिशत, ग्लोबल आइएमई १.८३ प्रतिशत बिन्दुले बढेर ३.०८ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकमा ०.८६ प्रतिशत बिन्दुले बढेर २.९५ प्रतिशत पुगेको छ ।
अघिल्लो आवको तुलनामा निष्क्रिय कर्जा नेपाल बैंकमा १.०२ प्रतिशत बिन्दुले बढेर २.८५ प्रतिशत, लक्ष्मी सनराइज १.९२ प्रतिशत बिन्दुले बढेर २.८१ प्रतिशत, एनएमबी १.२७ प्रतिशत बिन्दुले बढेर २.२७ प्रतिशत र कृषि विकास बैंकमा ०.३९ प्रतिशत बिन्दुले बढेर २.४८ प्रतिशत पुगेको छ ।
नेपाल एसबिआई बैंकको खराब कर्जा २.२८ प्रतिशत बिन्दुले बढेर २.२८ प्रतिशत, माछापुच्छ्रे १.०५ प्रतिशत बिन्दुले बढेर २.१२ प्रतिशत, सिद्धार्थ ०.९४ प्रतिशत बिन्दुले बढेर २.०१ प्रतिशत, सानिमा ०.९७ प्रतिशत बिन्दुले बढेर १.३ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड ०.६१ प्रतिशत बिन्दुले बढेर १.१७ प्रतिशत, एनआईसी एसिया ०.२७ प्रतिशत बिन्दुले बढेर ०.८० प्रतिशत र एभरेस्ट बैंकमा ०.४४ प्रतिशत बिन्दुले बढेर ०.१७ प्रतिशत पुगेको छ ।