काठमाडौं । आज साउन २१ गतेसम्म २० वटै वाणिज्य बैंकहरूले वित्तीय विवरण प्रकाशित गरेका छन् । सो वित्तीय विवरण अनुसार लाभांश क्षमता सबैभन्दा एभरेष्ट बैंकको रहेको छ । बैंकले गत आर्थिक वर्षमा वितरण योग्य नाफा ४ अर्ब ३३ करोड ३२ लाख रुपैयाँ रहेको छ ।
बैंकले चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख रुपैयाँ रहेको छ । सो पुँजीले बैंकले वितरण योग्य नाफालाई भाग गरेर आएको भागफललाई १०० ले मल्टिपल गर्दा आएको गुणफललाई सेयरधनीले पाउने लाभांश भनिन्छ । सो अनुसार एभरेष्ट बैंकले गत आवको सो नाफाबाट सेयरधनीलाई ४०.५० प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राखेको छ ।
बढी लाभांश दिन सक्ने क्षमतामा एनआईसी एशिया बैंक परेको छ । एनआईसी एशिया बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ छ भने बैंकको विवरणयोग्य नापाm ३ अर्ब ६९ करोड ८८ लाख रुपैयाँ रहेको छ । सोहि प्रक्रियाअनुसार बैंकले ३१.९९ प्रतिशत लाभाश दिनसक्ने क्षमता देखिएको छ । एनआईसी एशिया बैंकले अघिल्लो आर्थिक वर्ष र त्यसको अघिल्लो वर्ष पनि सेयरधनीलाई लाभांश दिएको छैन ।
लाभांश बढी दिन सक्ने तेस्रो बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंक बनेको छ । बैंकले २८.९९ प्रतिशत लाभांश वितरण गर्न सक्छ । बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ रहेको छ भने गत आवमा बैकको २ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ विवरणको योग्य नाफा रहेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक पछि बढि लाभांश दिने क्षमता राख्ने बैंकमा सानिमा बैंक रहेको छ । सानिमा बैंकको लाभांश क्षमता १७.७३ प्रतिशत रहेको छ । बैंकको चुक्ता पुँजी १२ अर्ब ४६ करोड १ लाख रहेको छ भने विवरणयोग्य नाफा २ अर्ब २० करोड ९६ लाख रुपैयाँ रहेको छ ।
माछापुच्छ्रे बैंकको वितरणयोग्य नाफा १ अर्ब ५६ करोड रहेको छ । बैंकको चुत्रला पुँजी भने १० अर्ब २५ करोड ७१ लाख रुपैयाँ रहेको छ । यो वर्ष बैंकले आफ्ना सेयर धनीलाई १५.२९ प्रतिशत लाभांश दिन दिन सक्छ । बैंकले गत आर्थिक वर्षमा सेयर धनीलाई लाभांश दिएको छैन ।
त्यसरी नै कृषि विकास बैंकको चुक्ता पुँजी १३ अर्ब ४५ करोड १५ लाख रुपैयाँ रहेको छ । सो पुँजीलाई आधारमान्दा बैंकले हाल कमाएको विवरणयोग्य नाफा २ अर्ब ७१ लाखबाट १४.९२ प्रतिशत लाभांश बाड्न सक्ने क्षमता देखिएको छ ।
नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेको नबिल बैंकले भने यस वर्ष लाभांश कम दिने भएको छ । बैंकको खराब कर्जा बढ्दा यसको असर लाभांश क्षमतामा परेको हो ।
बैंकले गत आवको नाफाबाट ३ अर्ब ८८ करोड ९५ लाख रुपैयाँ इम्पेरिमेन्ट चार्ज वापत रकम छुट्याएको छ । बैंकको खुदा नाफा ७ अर्ब ५२ करोड ७१ लाख भएपनि वितरण योग्य नाफा ३ अर्ब ९६ करोड १० लाख रुपैयाँमात्रै रहेको छ । २७ अर्ब ५ करोड ६९ करोड रुपैयाँ चुक्ता प्ँजी भएको बैंकको लाभांश ठूलो पुँजी भएकै कारणले घटेको हो ।
त्यसै गरी नेपाल एसबिआई बैंकको लाभांश क्षमता १३.९३ प्रतिशत देखिएको छ भने राष्ट्रिय वाणिज्य बैंकको ११.५९ प्रतिशत लाभांश क्षमता देखिएको छ ।
सनराइज र लक्ष्मी बैंक मर्जर पश्चात बनेको सनराइज लक्ष्मी बैंकले नाफा र अन्य सूचकांक राम्रा भएपनि लाभांश क्षमता भने कम देखिएको छ । २१ अर्ब ६७ करोड २ लाख चुक्ता पुँजी रहेको बैंकको वितरणयोग्य नाफा १ अर्ब ९३ करोड ७१ लाख रुपैयाँ हुँदा लाभांश क्षमता भने ८.९४ प्रतिशत देखिएको छ ।
ग्लोबल आईएमई बैंकको पनि लाभांश क्षमता ८.२७ प्रतिशतमात्रै रहेको छ । बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख पुग्दा लाभांश क्षमता कम देखिएको हो । बैंकको गत आवका वितरणयोग्य मुनाफा २ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ रहेको छ । ७ अर्ब २५ करोड ३४ लाख खुद नाफा कमाएको बैंकले इम्पेरिमेन्ट चार्जमा २ अर्ब ७१ करोड रुपैयाँ छुट्याएको छ । सोही कारण बैंकको लाभांश क्षमता कम देखिएको हो ।
एनएमबि बैंकको लाभांश क्षमता ८.१८ प्रतिशत रहेको छ । एनएमबिको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको छ भने बैंकको विवतरण योग्य मुनाफा १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । सिटिजन्स बैंक इन्टरनेशलको लाभांश क्षमता ७.३० प्रतिशत रहेको छ । बैंकको चुक्त पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा १ अर्ब ३ करोड ७२ लाख रुपैयाँ रहेको छ ।
त्यसरी नै नेपाल बैंकको लाभांश क्षमता ५.६५ प्रतिशत, सिद्धार्थ बैंकको लाभांश क्षमता ५.६५ प्रतिशत, प्राइम कमर्शियल बैंक १.०६ प्रतिशत, प्रभु बैंकले ०.६९ प्रतिशत, नेपाल इन्भेष्टन्ट मेगा बैंक ०.४६ प्रतिशत रहेको छ ।
हिमालयन बैंक र कुमारी बैंकले भने वितरणयोग्य नाफा नकारात्मक देखिएको छ । दुबै बैंककले वितरणयोग्य प्रतिसेयर आम्दानी ३ रुपैयाँभन्दा धेरैले ऋणात्मक देखिएको छ । यी दुबै बैंकले नाफा कमाएपनि अन्य नोक्सानी व्यहोर्दा लाभांश वितरण गर्न नसक्ने देखिएको हो । हिमालयन बैंक गत आवमा ३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ नाफा गरेको छ भने कुमारी बैंकले १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ खुद नाफा रहेको छ ।
हिमालयन बैंकले गत आवको कमाइबाट २ अर्ब १५ करोड ६१ लाख इम्पेरिमेन्ट चार्ज रहेको छ भने कुमारी बैंकले गत आवमा ५ अर्ब ७३ करोड ५८ लाख चार्ज छुट्याएको छ ।