काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.९६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ३६ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा १०० प्रतिशतभन्दा बढी बढेपनि गैर सञ्चालन खर्च बढेका कारण बैंकको खुद नाफा सामान्य मात्र बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १००.९५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ५.४४ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ७५.६८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ११४.८१ प्रतिशत बढेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७१ करोड १४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ १७ पैसा घटेर १५ रुपैयाँ ८ पैसामा झरेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.११ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ५८ पैसा रहेको छ ।
२१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब २० करोड ३४ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप ६३.४७ प्रतिशत बढेको छ भने कर्जा लगानी ५६.४२ प्रतिशत बढेको छ ।