भोलिबाट अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओमा सर्वसाधारणले आवेदन दिन सकिने

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले भोलिबाट आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले भोलि साउन १८ गतेदेखि सर्वसाधारण लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो । सोमध्ये १ लाख ९८ हजार ८२४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

३९ हजार ७६५ कित्ता सेयर कर्मचारीहरुका लागि र ९९ हजार ४१२ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ । कम्पनीले आयोजना प्रभाविन क्षेत्रका बासिन्दाहरूका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २५ हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा साउन २२ गते हुनेछ भने ढिलोमा साउन ३२ गते हुनेछ ।

कम्पनीले प्रबर्धन गरिरहेको ४ मेगावाटको माथिल्लो लोहोरे साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत ९४ करोड ७२ लाख १७ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २३ करोड ६८ लाख ४ हजार २५० रुपैयाँ रहेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स