काठमाडौं । व्यवसाय सुरु गर्नुभन्दा पहिले आफूले गर्न लागेको व्यवसाय कसरी र किन गर्ने भनि विस्तृत योजना बनाउन जरुरी हुन्छ । योजना बनाएर व्यवसाय संचालन गर्दा लगानी डुब्ने वा व्यवसाय घाटामा जानेसम्भावाना कम हुन्छ ।
व्यवसायिक योजना के हो ?
तपाईंको व्यवसायको बारेमा सबै जानकारी (किन, कहाँ, कहिले र कसरी गर्ने) भन्ने विषयमा एकै ठाँउमा देखिने गरी लेखिएको कागज वा फाइल नै व्यवसायिक योजना हो ।
तपाईंले सुरु गर्ने व्यवसायमा आउनसक्ने सबै किसिमका समस्याहरूको उत्तर हुनुपर्छ ।
तपाईंको व्यवसायको नाम, उद्देश्य के हो?
मेशिन उपकरण के कति चाहिन्छ ? के कस्ता दक्षताका कति कामदार चाहिन्छ ?
कति पुँजी आवश्यक पर्छ? अन्य खर्चहरू के कति लाग्ला ?
लगानीको कति नाफा पाउन सकिन्छ ?
तपाईंले कुन÷कस्तो गुणस्तरको वस्तु÷सेवा उत्पादन गर्ने वा दिने हो ?
कति परिमाणमा उत्पादन गर्ने हो?
वस्तु÷सेवाको बजार क्षेत्र कहाँ हो?
बजार माग कस्तो छ ? कस्ता उमेर समूहका मान्छेहरू बस्छन् ?
यस्ता आउन सक्ने अरु सबै प्रस्नहरुको उत्तरहरू उल्लेख गर्नुपर्छ ।
व्यवसायिक योजना किन चाहिन्छ ?
व्यवसाय संचालन गर्दा अलमल नभैकन दैनिक काम तथा निर्णयहरू गर्न
व्यवसायको लागि ऋण लिँदा व्यवसायिक योजना भयो भने प्राथमिकता दिइन्छ
लगानी गर्ने कि नगर्ने लेखाजोखा गर्न
तपाईंले गर्न लाग्नु भएको व्यवसायमा कुन कुन कुराहरु राम्रा छन् ? र कुन कुन कुराहरुको कमी छ ?
यसरी बनाउने व्यवसायिक योजना
व्यवसायिक योजना बनाउनुभन्दा अगाडि यो भनेको के हो भनेर बुझ्नु जरुरी छ । व्यवसायिक योजना भनेको आफूले व्यवसायका सिलसिलामा गर्न चाहेको कुरा र भाविष्यमा गर्न सकिने कदमबारे लेखिएको विस्तृत रिपोर्ट नै व्यवसायिक योजना हो । यसमा आफूले व्यवसाय गर्न चाहेका कारण, व्यवसाय गरिने ठेगाना, कहिले गर्ने, कति खर्चमा गर्ने र खर्चको स्रोत कहाँबाट जुटाउनेलगायत पक्ष र लाग्ने जिज्ञासाको उत्तर दिने गर्छ ।
व्यवसायको परिचय
यो तयार गर्दा सबैभन्दा पहिले आफ्नो व्यवसायका बारेमा लेख्नुपर्छ । व्यवसायको प्रकृति, व्यवसाय गर्ने जिम्मेवार व्यक्तिको पृष्ठभूमि, व्यवसायको ठेगाना, फोन नम्बरलगायत विवरण उल्लेख गर्नुपर्छ । व्यवसायको उद्देश्य लेख्न भुल्नुहुँदैन । आफ्नो व्यवसाय कुन स्तरमा छ । भविष्यमा कस्तो योजना बनाउँदै छु भन्नेबारे पनि प्रस्टसँग लेख्नुपर्छ । आफ्नो व्यवसायले बजारमा कस्तो गरिरहेको छ । भविष्यमा के गर्ने योजना छ, त्यो पनि उल्लेख गर्नुपर्छ । बजार मागबारे, प्रतिस्पर्धाबारे पनि लेख्नुपर्ने हुन्छ ।
आफ्नो उत्पादन वा सेवाबारे
आफ्नो व्यवसायले उपभोक्तालाई कस्तो वस्तु तथा सेवा आपूर्ति गरिरहेको छ ? त्यसको अवस्था कस्तो छ ? प्रतिस्पर्धा कस्तो छ ? त्यो बारेमा पनि लेख्नुपर्छ । बजारमा उपलब्ध वस्तु तथा सेवा कस्तो छ र आफूले के गर्न सकिन्छ भनेर पनि लेख्ने ।
रणनीति विश्लेषण
आफूले कुन तरिकाले व्यवसाय गर्न खोजेको हो र भविष्यमा कसरी अगाडि बढ्न सकिन्छ ? त्योबारे पनि लेख्ने । अहिले बजारमा भएका प्रतिस्पर्धीभन्दा फरक कसरी बन्न सकिन्छ ? त्यो कुरा व्यवसायिक योजनामा लेख्नुपर्छ ।
श्रमिक लागत
व्यवसायमा सबैभन्दा महत्वपूर्ण खर्च भनेको पारिश्रमिक लागत पनि हो । आफूले कस्ता श्रमिक राख्ने हो, उनीहरूको उत्पादकत्व कस्तो हुन्छ भन्ने कुरा पनि लेख्नुपर्छ ।
कच्चा पदार्थ
उत्पादनमूलक व्यवसायिक योजनाको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको कच्चा पदार्थ हो । कच्च पदार्थको उपलब्धता र मूल्यले अन्तिम वस्तुको गुणस्तर र मूल्यमा असर पर्छ । सजिलै उपलब्ध भएमा कच्चा पदार्थको उपादकत्व बढ्न सक्छ । जति सस्तोमा कच्चा पदार्थ उपलब्ध हुन्छ, अन्तिम वस्तुको मूल्य त्यति नै सस्तो पर्न जान्छ । यातायातको अवस्था कस्तो छ ? ढुवानीको अवस्थाबारे पनि लेख्नुपर्छ ।
कम्पनी
व्यवसाय सञ्चालनका लागि पूर्वाधार निर्माण सबैभन्दा महत्वपूर्ण पक्ष हो । उद्योग–व्यवसायका लागि घर, सहज पहुँचको जग्गा, अत्याधुनिक मेसिन, सवारीसाधन आदि कुराका बारेमा पनि लेख्नुपर्छ ।
उत्पादन
उत्पादनबारेमा पनि लेख्ने, आफ्नो उद्योग–व्यवसायले कस्तो वस्तुको उत्पादन गर्छ । वस्तु र सेवा उत्पादन गर्न मुख्य रूपमा के–के काम गर्नुपर्छ, त्यसको बारेमा पनि लेख्ने ।
उद्योग–व्यवसाय खोलेर मात्र हुँदैन, यसको उत्पादन बिक्री गर्ने तरिकाबारे पनि राम्रो जानकार हुनुपर्छ । कसरी आफ्नो व्यवसायका बारेमा ग्राहकलाई जानकारी गराउने हो, त्यो लेख्ने । विज्ञापन गर्ने हो भने कहाँ र कति पैसा तिरेर गर्ने हो ? रेडियो, टिभी, पर्चा, ब्यानर आदि माध्यमबाट विज्ञापन गर्नुपर्छ ।
बैंक ऋण
ऋणका लागि व्यवसायिक योजना बनाउने हो भने खर्च र आम्दानीबारे ख्याल गर्नुपर्छ । खर्च धेरै देखियो भने ऋण नदिने सम्भावना हुन्छ । त्यसैले खर्च राख्दा सकेसम्म गुणस्तरमा कमी आउन नदिई कम खर्च गरी काम सम्पन्न गर्ने प्रयास गर्नुपर्छ । साथै, ऋणको भुक्तानी अवधि ब्याज धान्न सक्ने पर्याप्त आम्दानीसमेत देखिनुपर्छ ।
तालिम
समय–समयमा विभिन्न संघ–संस्थाहरूले व्यावसायिक योजना बनाउनेसम्बन्धी तालिमहरू पनि दिइरहेका हुन्छन्, त्यहाँ गएर पनि तालिम लिई आफैं व्यवसायिक योजना बनाउन सकिन्छ ।