सफ्टवेरिका कलेजमा जुलाई २७ देखि जुलाई ३० सम्म ‘टेक-एक्स २०२३’ आयोजना हुने

काठमाडौं । आईटी तथा ईकमर्स कलेजको रूपमा परिचित सफ्टवेरिका कलेजमा स्मार्ट प्रविधिको प्रदर्शनी आयोजना हुने भएको छ । आउँदो बिहीबारदेखि डिल्ली बजार काठमाडौं स्थित कलेज परिसरमा अध्ययनरत विद्यार्थीले तयार पारेका प्रोजेक्टहरूको चार दिने प्रदर्शनी शुरु हुने भएको हो ।

आईतबारसम्म चल्ने उक्त प्रदर्शनीमा रोबोटहरूको वार मुख्य आकर्षणको रूपमा रहने आयोजक कलेजले जनाएको छ । यस प्रदर्शनीको उद्घघाटन नेपाल सरकारका सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्मा द्वारा हुनेछ । यसका साथै एआई र साइबर सुरक्षा क्षेत्रमा विद्यार्थीहरूले तयार पारेका विभिन्न प्रोजेक्टहरू समेत हेर्न पाइनेछ । प्रदर्शनीमा नवप्रवर्तन सम्बन्धी ३० भन्दा बढी प्रोजेक्टका स्टलहरू रहने छन् । जसमा स्मार्ट ग्लास (चस्मा) तथा स्मार्ट ब्लाइन्ड स्टिक (दृष्टि विहीनले प्रयोग गर्ने छडी) र होम सेक्युरिटी सहित घरमा अनधिकृत व्यक्तिको घुसपैठ भएको थाहा पाउने सिस्टम रहेका छन् ।

यसैगरी कोलोनीका लागि आगलागी सम्बन्धी सुचना दिने फायर अलार्म सिस्टम, स्मार्ट वाच, हेल्थ मनिटरिङ सिस्टम, स्मार्ट ट्राफिक व्यवस्थापन प्रणालीका साथै स्मार्ट प्रिसिजन एग्रिकल्चर सम्बन्धी प्रोजेक्ट समेत राखिने छन् । यस बाहेक रिमोट मनिटरिङसहित डढेलो लागेको पहिचान गरी जानकारी दिने सिस्टम, फिल्ड मनिटरिङ तथा बाली निरीक्षण सिस्टमका लागि अग्मेन्टेड रियालिटी (एआर) र प्लानेटरी एक्सप्लोरेसन रोबोट पनि कलेजका विद्यार्थीहरूले बनाएका छन् ।

स्मार्ट फोहोर व्यवस्थापन प्रणाली, अण्डा कोरल्ने स्मार्ट सिस्टम, स्मार्ट डुंगा, स्मार्ट हाइड्रोपोनिक, सर्भिलेन्स मिलिट्री रोबोट लगायतका नवीनतम परियोजना समेत प्रदर्शनीमा देखिने छन् । यही साउन ११–१४ सम्म चल्ने मेला बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निःशुल्क रूपमा अवलोकन गर्न सकिनेछ । बेलायतको कोभेन्ट्री युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस कलेजमा इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटी, कम्प्युटिङ, डेटा साइन्स तथा कम्प्युटेसनल इन्टेलिजेन्स लगायतका विषयहरूको अध्यापन हुने गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका प्रोजेक्टहरू सार्वजनिक गर्न हरेक वर्ष प्रदर्शनी आयोजना हुँदै आएको छ । आईओटी एक्सपोको रुपमा परिचित सफ्टवेरिकाको प्रदर्शनी यस पटक भने टेक एक्सपोको नाममा प्रस्तुत गर्रिदैछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स