काठमाडौं । भोलिबाट दुई कम्पनीले आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । हाथवे इन्भेस्टमेन्ट नेपाल र माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले भोलि साउन ४ गतेबाट आईपीओ निष्काशन गर्न लागेको हो ।
जसअनुसार, हाथवे इन्भेस्टमेन्ट नेपालले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५ प्रतिशतले हुन आउने ५० रुपैयाँ अंकित मूल्यका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको छ। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गर्न लागेको हो।
यो आईपीओमा विदेशमा रहेका श्रमिकले न्यूनतम २० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।
यस निष्काशनमा साउन १८ गतेसम्म आवेदन दिन सकिने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी आईपीओ पूर्ण रुपमा बिक्री नभएमा सर्वसाधारणका लागि छुट्याइएको आईपीओमा जोडेर निष्काशन गरिने कम्पनीले जनाएको छ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।
त्यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको १० प्रतिशत अर्थात १० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १० लाख साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि निष्काशन गर्न लागेको हो।
सोमध्ये ५ लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. ९ का बासिन्दाहरुलाई बाँडफाँट गरिनेछ भने २ लाख ८५ हजार ७२० कित्ता सेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५, तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थिानिय बासिन्दाहरुका लागि र सो क्षेत्र बाहेकका रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १ लाख ४२ हजार ८५० कित्ता सेयर बाँडफाँट कम्पनीले जनाएको छ ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५० हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि निष्काशन बन्द छिटोमा साउन १८ गते हुनेछ भने ढिलोमा भदौ १ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन १८ गतेभित्र आवेदन दिनु पर्नेछ ।
कम्पनीले प्रबर्धन गरिरहेको १४.३ मेगावाटको माथ्लिलो मैलुङ खोल जलविद्युत आयोजनाको कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ४८ लाख २५ हजार १७८ रुपैयाँ रहेको छ ।
आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.१० वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १२.७६ वर्ष रहेको छ । आयोजनाले यही साउन १५ गतेदेखि व्यवसायिक उत्पादन गर्ने तयारी गरेको छ ।