काठमाडौं । घोराही सिमेन्टको आईपीओ आज आइतबार बाँडफाँट हुने भएको छ। कम्पनीको आईपीओ आज असार ३१ गते दिउँसो ३ः३० बजे नक्साल स्थित नबिल इन्भेष्टमेन्टको कार्यालयमा सेयर बाँडफाँट हुन लागेको हो।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा ६ लाख ७३ हजार ८३९ जना आवेदकबाट ११ अर्ब ५ करोड ७८ लाख ३९ हजार २०० रुपैयाँ बराबरको २ करोड ५४ लाख २० हजार ३२० कित्ता सेयरको लागि आवेदन परेको थियो ।
जुन सर्वसाधारणलाई निष्काशन गरेको कुल ६९ लाख ११ हजार ६७० कित्ता सेयरको ३.६७ गुणा बढी हो ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले सेयर वितरण हुनेछ । जसअनुसार सबै आवेदकले न्युनतम १० देखि २० कित्ता सम्म सेयर पाउने देखिन्छ ।
कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको २० प्रतिशत अर्थात ७९ करोड ४३ लाख ८० हजार १०० रुपैयाँ बराबरका ९७ लाख ४३ हजार ८०१ कित्ता सेयर मध्ये ५ प्रतिशतले हुन आउने ३ करोड ९७ लाख ९१ हजार रुपैयाँ बराबरको अंकित मूल्य १०० रुपैयाँमा ३०० थप गरी प्रतिसेयर ४०० रुपैयाँका दरले ३ लाख ९७ हजार १९० कित्ता सेयर सर्वसाधारणको लागि निष्काशन गरिसकेको छ ।
यस्तै १० प्रतिशतले हुन आउने ७ करोड ५४ लाख ६६ हजार १०० रुपैयाँ बराबरको अंकित मूल्य १०० मा प्रिमियम बापत ३३५ रुपैयाँ थप गरी प्रतिसेयर ४३५ रुपैयाँका दरले ७ लाख ५४ हजार ६६१ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरिसकेको छ ।
सामुहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ३ लाख ७७ हजार ३३१ कित्ता र कर्मचारीहरुलाई ५ प्रतिशत अर्थात ३ लाख ७७ हजार ३३१ कित्ता सेयर छुटाएको थियो ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुलाई ७७ हजार २९० कित्ता, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीलाई ६ लाख ६ हजार ३५० कित्ता सेयर, सामुहिक लगानी कोषलाई ३ लाख २८ हजार ९६१ कित्ता सेयर र कम्पनीका कर्मचारीहरुलाई १९ हजार ५३० कित्ता शेयर बाँडफाँट गरे पश्चात बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्ता सेयर सहित ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारणको लागि वितरण हुनेछ ।