चालु आवमात्रै ४२ कम्पनीले पाए २२ अर्ब ३७ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने अनुमति(कुन वर्ष कति ?)

काठमाडौं । चालु आर्थिक वर्षमा ४२ कम्पनीले २२ अर्ब ३७ करोड ८६ लाख १२ हजार ८९७ रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेका छन् । आर्थिक मन्दी र बैंकको चर्को ब्याजदरका कारण कम्पनीहरूले थप पुँजी जुटाउन गाह्रो भएको हुँदा यी कम्पनीहरूले आईपीओको बाटो रोजेको हुन । योसँगै चालु आर्थिक वर्षमा सबैभन्दा धेरै कम्पनीहरुले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेका छन् ।

साउनयताको तथ्यांक हेर्ने हो भने यस वर्ष हाइड्रोपावरको आईपीओमा बाढी नै आएको छ । यो वर्ष २९ वटा जलविद्युत कम्पनीले नेपाल धितोपत्र बोर्ड सेबोनबाट आईपीओ निष्काशन गर्ने अनुमति पाएका छन् । विद्युत उत्पादन गर्न बाँकी हाइड्रोपावरलाई भने आईपीओ जारी गरेर पुँजी जुटाउन निकै सहज भएको देखिन्छ ।

यसका साथै ४ इन्स्योरेन्स कम्पनी, ४ लघुवित्त, २ होटल तथा पर्टयटन समूहका र घोराही सिमेन्ट तथा रिपब्लिक मिडियाले नेपाल धितोपत्र बोर्ड सेबोनबाट आईपीओ निष्काशन गर्ने अनुमति पाएका हुन् । अन्य र उत्पादन समूहका एक–एक वटा कम्पनीले पनि प्राथमिक सेयर जारी गर्न अनुमति प्राप्त गरेका हुन् । यसमध्ये कतिपय कम्पनीहरुको आईपीओ बिक्री खुला हुन बाँकी छ ।

बीमा कम्पनीलाई नियामक बीमा प्राधिकरणले चुक्ता पुँजी बढाउन निर्देशन दिएपछि आईपीओ जारी गर्न बाँकी इन्स्योरेन्स कम्पनीहरूले पनि साधारण सेयर जारी गरेर पुँजी बढाउने बाटो रोजेका हुन् ।

आर्थिक वर्ष २०७८/७९ मा २८ वटा कम्पनीहरुले आईपीओ निष्कासनका लागि अनुमति प्राप्त गरेका थिए । जसमध्ये १९ वटा हाइड्रोपावर, ८ वटा लघुवित्त, एउटा लगानी कम्पनी रहेको छ । उक्त वर्ष ७ अर्ब २० करोड ३६ लाख ४२ हजार ५ सय रुपैयाँ रकम बराबरको आईपीओ जारी गर्न स्वीकृति प्रदान गरिएको थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा २२ कम्पनीले साधारण सेयर निष्कासनका अनुमति प्राप्त गरेका थिए । यो आर्थिक वर्षमा कुल १५ अर्ब १८ करोड ६४ लाख ८२ हजार ७०० रुपैयाँ बराबरको सेयर जारी गर्ने अनुमति प्रदान गरिएको यियो ।
७ वटा इन्स्योरेन्स, ७ हाइड्रोपावर, ५ माइक्रोफाइनानन्स, अन्य, होटल्स तथा पर्यटन र लगानी समूहका एक–एक वटा कम्पनीले आईपीओ जारी गर्न अनुमति प्राप्त गरेका थिए ।

आर्थिक वर्ष २०७६/७७ मा जम्मा ९ वटा कम्पनीले मात्र आईपीओ निष्कासनको अनुमति प्राप्त गरेका थिए । सोमध्ये ४ वटा हाइड्रोपावर, २ वटा इन्स्योरेन्स, २ वटा माइक्रोफाइनान्स, एउटा लगानी समूहको कम्पनी थिए । उक्त वर्ष यिनीहरुलाई ३ अर्ब ९९ करोड ४८ लाख ४ हजार रुपैयाँ बराबरको सेयर जारी गर्ने अनुमति दिइएको थियो ।

आर्थिक वर्ष २०७५/७६ मा २८ वटा कम्पनीले आईपीओ  जारी गर्ने अनुमति प्राप्त गरेका थिए । यसमध्ये १२ लघुवित्त, १६ हाइड्रोपावर कम्पनीहरुले कुल ७ अर्ब ३४ करोड ६६ लाख ७६ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने अनुमति प्राप्त गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स