करका दर संशोधन गर्न सकिन्छः अर्थमन्त्री महत

काठमाडौं । सरकारले आर्थिक विधेयक, २०८० मार्फत प्रस्ताव गरेका करका दर आवश्यकताअनुसार संशोधन गर्न सकिने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक विधेयक २०८० माथि दफावार छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले करका दर प्रस्ताव गर्दा सकारात्मक र नकारात्मक पक्षको समीक्षा गरिने र सोहीअनुसार संशोधन गर्न सकिने बताएका हुन्। ‘करका विषयमा कहाँ के गर्दा ठीक हुन्छ भन्ने विषयमा हामी खुला छौं । हामीले गरेका प्रस्ताव दायाँबायाँ हुँदैन भन्ने छैन । मोटामोटी आङ्कलन गरेर समग्रमा यसो गर्दा ठीक हुन्छ भन्ने भएर प्रस्ताव गरिएको हो’, अर्थमन्त्री महतले भने, ं‘हामीले प्रस्ताव गरेका करका दरले कहाँ सकारात्मक र नकारात्मक असर परेको छ समीक्षा गरी सोही अनुसार दर निर्धारण हुन्छन् ।’

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सुर्तीजन्य वस्तुमा लाग्दै आएको स्वास्थ्य जोखिम कर बढाउनुपर्ने माग गरेका थिए । तर सुर्तीजन्य वस्तुमा अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र स्वास्थ्य जोखिमसमेत जोड्दा उच्चदरमा कर लागिरहेको उनको भनाइ थियो । आर्थिक विधेयकमा राखिएको वैदेशिक पर्यटन शुल्क विदेशबाट नेपालमा आउने पर्यटकका लागि नभई विदेश घुम्न जाने नेपालीका लागि लगाइएको कर भएको पनि अर्थमन्त्री महतले स्पष्ट पारे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स