काठमाडौं । भियतनामी परिकारका पारखीहरुलाई लक्षित गर्दै काठमाडौंको लाजिम्पाटमा ‘फो ९९ रेष्टुरेन्ट’ खुलेको छ । लाजिम्पाटस्थित होटल सांग्रिलाअगाडि खोलिएको रेष्टुरेन्टको नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठले बिहीबार उद्घाटन गरेका छन् ।
कार्यक्रममा वाणिज्यदूत श्रेष्ठले नेपालमा फस्टाउँदो खाद्य संस्कृतिलाई फो ९९ ले फराकिलो बनाएको धारणा राखे । नेपाल घुम्न आउने पर्यटकलाई आफ्नै मुलुकको स्वाद चखाउन तथा रेष्टुरेन्ट पारखी नेपालीहरुलाई स्वस्थ खाना खुवाउन फो ९९ सफल हुने उनको विश्वास छ ।
रेष्टुरेन्ट सञ्चालक नवीन सारुका अनुसार भियतनामी खानेकुराहरू सामान्यतया ताजा जडीबुटीहरू जस्तै सिलिन्ट्रो, अदुवा, लेमनग्रास, पुदिना र तुलसीले तयार पारिन्छन् । प्रायः माछाको चटनी, झिंगेमाछा (प्राउन)को पेस्ट वा सोयाबिन ससको साथमा ग्राहकसमक्ष सर्भ गरिन्छ । भियतनामी खाना न्यून तेल, सीमित मसला र ताजा सामग्रीसँग पकाइने भएकाले यो संसारको सबैभन्दा स्वस्थ व्यञ्जनमध्ये मानिन्छ ।
सन् २०११ मा युवा व्यवसायी सारुले स्थापना गरेको फो ९९ ले यसअघि काठमाडौंको बौद्धनाथ र ललितपुरको झम्सिखेलमा पनि भियतनामी स्वाद पस्किँदै आएको छ । कम मसला हुने भएकाले भियतनामी खाना संसारभर लोकप्रिय छन् ।
रेष्टुरेन्ट सञ्चालक सारुले नेपाल घुम्ने भियतनामीहरुको संख्या बढ्दै गइरहेको र नेपाली उपभोक्ताले पनि भियतनामी खाना रुचाउने भएकाले शाखा विस्तार गरिएको बताउँछन् । ‘जब हामीले २०११ मा सुरु ग¥यौं, हामी नेपालमा पहिलो पूर्ण भियतनामी रेस्टुरेन्ट थियौं,’ उनी भन्छन्, ‘त्यसबेला धेरैलाई भियतनामी खानाको बारेमा धेरै थाहा थिएन भने नेपाल घुम्न आउने भियतनामीहरूको संख्या पनि न्यून थियो ।
पछिल्ला दश वर्षमा, धेरै भियतनामीहरू नेपाल घुम्न थालेका छन् भने धेरै नेपालीहरूले पनि भियतनामी खानाबारे जान्न र प्रशंसा गर्न थालेको उनको भनाइ छ ।
फो ९९ मा ‘भियतनामी ग्रिल फिस विथ लेमन ग्रास’ पारखीले निकै मन पराउने गरेका छन् भने भियतनामी नुडल्स पनि प्रख्यात छ । भियतनामी आइस टी र हट कफीसँगै नरिवल जुसको स्वाद पनि यहाँ पाइन्छ ।