काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५ कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले सिटिजन लाइफ, सन नेपाल लाइफ, मान्डु हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्य सेयर निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा १४४ रुपैयाँ थप प्रिमियम सहित २४४ रुपैयाँका दरले सर्वसाधारणको लागि १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । त्यस मध्ये ५ लाख ६२ हजार ५०० कित्ता सेयर भने कर्मचारीहरुलाई अंकित मूल्यमै सेयर निष्काशन गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटल रहेको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्सले पनि प्रिमियमा मूल्यमा सेयर निष्काशन गर्न बोर्डले अनुमति दिएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा १३९ रुपैयाँ थप प्रिमियम सहित प्रति कित्ता २३९ रुपैयाँका दरले सर्वसाधारणको लागि ९६ लाख कित्ता सेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । त्यस मध्ये ४ लाख ८० हजार कित्ता शेयर भने कर्मचारीहरुलाई अंकित मूल्यमै सेयर निष्काशन गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेण्ट बैकिङ लिमिटेड रहेको छ ।
मान्डु हाइड्रोपावर लिमिटेडले पनि सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ थप प्रिमियम सहित प्रति कित्ता २०६ रुपैयाँका दरले १६ लाख ३६ हजार ३७० कित्ता शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
मिड सोलु हाइड्रोपावर लिमिटेडले पनि १०० रुपैयाँ अंकित दरमा १४ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको १४ लाख ९६ हजार ८०० कित्ता सेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि सो बराबरको सेयर निष्काशन गर्नेछ ।कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
हाथवे इन्भेष्टमेन्ट कम्पनीले प्रति कित्ता ५० रुपैयाँका दरले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री बोर्डबाट अनुमति पाएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेकोछ ।