निर्यात नगद अनुदानमा निजी क्षेत्रलाई सरकारको करिब ३ अर्ब

काठमाडौं । सरकारले आर्थिक वर्ष (आव) २०६८/६९ देखि २०७६/७७ औद्योगिक वस्तु निर्यातालाई प्रोत्साहित गर्न २ अर्ब ८४ करोड निर्यात नगद अनुदान निजी क्षेत्रलाई प्रदान गरेको छ ।

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले राष्ट्र योजना आयोगका लागि विदेशी विनिमय दर निर्धारण प्रणाली अध्ययन प्रतिवेदन अनुसार सरकारले २०६८/६९ देखि २०७६/७७ औद्योगिक वस्तु निर्यातालाई प्रोत्साहित गर्न २ अर्ब ८४ करोड निर्यात नगद अनुदान निजी क्षेत्रलाई उपलब्ध गरेको उल्लेख छ ।

सरकारले निर्यात अभिवृद्धि गरेर व्यापार घाटा कम गर्ने उद्देश्यसहित आव २०६८/६९ देखि निर्यातमा नगद प्रोत्साहन उपलब्ध गराउन शुरु गरेको हो । आव २०६८/६९ मा १ देखि २ प्रतिशतसम्म नगद अनुदान उपलब्ध गराउन शुरु गरेको हो ।

निर्यातमा २ प्रतिशत नगद अनुदान पाउने वस्तुमा प्रशोधित कफी, अर्ध प्रशोधित छाला, हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित छाला, हाते कागज र त्यसका उत्पादन, प्रशोधित मह, चिया, गलैंचा तथा ऊनीका सामान, पस्मिना तथा रेसमजन्य वस्तु र प्रशोधित जडीबुटी तथा सारयुक्त तेल हुन् ।

१ प्रतिशत नगद अनुदान पाउने वस्तुमा तयारी चाउचाउ, चोकर, चक्की आँटा, पोलिस्टर फाइवर भिसकस यार्न, पोलिस्टर टेक्सटाइल यार्न, तयारी पोसाक, वनस्पति तेल, ट्रान्सफरमर, स्टिल पोल्स तथा एसेसरिज, डट्पेन, दाल, किमती तथा अर्धकिमती पत्थर, सुनचाँदीका गरगहना, बेसार, सुठो, बीउबिजन, फुल (पुष्प), फलफुल , तरकारी, अदुवा, अलैंची र जडीबुटी पर्छन् ।

आव २०७५/७६ देखि औद्योगिक उत्पादनको निर्यातमा ३ देखि ५ प्रतिशतसम्म नगद अनुदान दिईने घोषणा सरकारले गरेको थियो ।

निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि, २०७५ मन्त्रिपरिषद्बाट स्वीकृत भई नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको छ ।

उक्त कार्यविधिमा शत्प्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित १५ वस्तुहरू चिया, प्रशोधित कफी, हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित छाला (क्रस्ट) र छालाजन्य उत्पादनहरू, हाते कागज तथा सोबाट उत्पादित सामान, प्रशोधित पत्थर तथा पत्थरजडित गरगहना, अल्लोबाट उत्पादित सामानहरू, मिनरल वाटर, बेसार, तरकारी, पुष्प, प्रशोधित मह, प्रशोधित अलैंची, प्रशोधित अदुवा (सुठो, स्लाइडिङ, तेल र पाउडरलगायत) र प्रशोधित जडीबुटी तथा सारयुक्त तेललाई ५ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरिएको छ ।

र, अन्य ११ वस्तुहरु स्वदेशमा उत्पादित कपडा, तयारी पोशाक, गलैंचा र ऊनीका सामान, च्यांग्रा पस्मिना तथा सोबाट उत्पादित सामान, स्वदेशी प्रशोधित जुट तथा जुटका सामान, सुनचाँदीका गरगहना, स्वदेशी अर्ध प्रशोधित छाला, औषधि, फेल्ट (ऊनीजन्य) का वस्तुहरू, पोलिस्टर यार्नरफाइबर भिस्कोर्स यार्नरकटन यार्न र तामाका सामान (हस्तकलाका सामान, पूजाआजाका सामान, सजावटका सामान तथा अन्य भाँडाकुाडा)लाई ३ प्रतिशत नगद अनुदान दिने निर्णय गरिएको छ ।

यसका लागि निर्यातकर्ताले निर्यात अनुदानका लागि बैंकमा निवेदन दिएको एक साताभित्र निर्यातकर्ताको बैंक खातामा जम्मा गरिदिनु पर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

औद्योगिक वस्तु निर्यातालाई प्रोत्साहित गर्ने नीति लिइएको पहिलो आव २०६८/६९ मा १० करोड ३० लाख सरकारले नगद अनुदान उपलब्ध गराएको थियो ।

आव २०७६९/७० मा १८ करोड ३० लाख रुपैयाँ, आव २०७०/७१ मा ३८ करोड रुपैयाँ, आव २०७१/७२ मा २५ करोड ९० लाख रुपैयाँ र आव २०७२/७३ मा १९ करोड ६० लाख रुपैयाँ निर्यात नगद अनुदान निजी क्षेत्रलाई उपलब्ध गरेको छ ।

आव २०७३/७४ मा २९ करोड रुपैयाँ, आव २०७४/७५ मा २१ करोड १० लाख रुपैयाँ, आव २०७५/७६ मा ३६ करोड ३० र आव २०७६/७७ मा ८५ करोड ५० लाख रुपैयाँ निर्यात नगद अनुदान निजी क्षेत्रलाई उपलब्ध गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स