राष्ट्र बैंकले रिभर्स रिपो तानेपछि अन्तर बैंक कारोबारको ब्याजदर बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेपछि अन्तर बैंक ब्याज दर माथि उक्लिएको छ । गत साता शुक्रबारसम्म २.६५ प्रतिशतमा झरिसकेको अन्तर बैंक ब्याज दर अहिले ५.११ प्रतिशत पुगेको छ । यसको अर्थ वित्तीय बजारमा फेरि तलरता अभाव देखिएको हो भन्ने बुझिएको छ । बजारमा रकम अभाव देखिएपछि बैंकहरूले सापटीको रुपमा एक आपसमा पैसा चलाउँदा अन्तर बैंक कारोबार बढ्दा ब्याजदर बढेको हो ।

साताको दोस्रो दिनदेखि अन्तर बैंक ब्याज उक्लिन थालेको हो। सुरुमा २.६५ प्रतिशत रहेको अन्तर बैंकले ४ प्रतिशत हुँदै अहिले यो विन्दुमा आइपुगेको हो । राष्ट्र बैंकले बजारमा ४० अर्ब रुपैयाँ अधिक भएको तरलता तान्न लगातार रिभर्स रिपो जारी गरेपछि केही कम भएको हो। राष्ट्र बैंकले ब्याज दर करिडोरभन्दा तल अन्तर बैंक नजाओस् भनेर रिपोर्स रिपो जारी गरेको थियो।

अन्तर बैंक कारोबार बढेपनि बैंकहरूको सीडी रेसियो भने ८३.९२ प्रतिशत रहेको छ । हाल बैंक तथा वित्तीय संस्थाहरूसँग ५५ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने बैंक तथा वित्तीय संस्थाले कुल ४८ खर्ब ६३ अर्ब कर्जा प्रवाह गरेका छन् ।

सो निक्षेपमध्ये ४९ खर्ब २७ अर्ब वाणिज्य बैंकको निक्षेप हो भने विकास बैंक र ६ खर्ब ५६ अर्ब फाइनान्स कम्पनीहरूको निक्षेप हो । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेका कर्जामध्ये ४३ खर्ब ५ अर्ब वाणिज्य बैंकहरूको हो भने अन्य बैंक तथा वित्तीय संस्थाहरूले ५ खर्ब ५८ अर्ब कर्जा प्रवाह गरेका छन् ।

त्यसैगरी राष्ट्र बैंकले अपडेट गरेको पछिल्लो तथ्यांकअनुसार छोटो अवधिको २८ दिने कर्जाको लागि ५.६१ प्रतिशत ब्याजदर तोकिएको छ भने ९१ दिने कर्जाको लािग ६.८० प्रतिशत, १८२ दिने कर्जाको ६.९० प्रतिशत र ३६४ दिने कर्जाको लागि ७.१९ प्रतिशत ब्याजदर तोकिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स