ललिता निवास जग्गा प्रकरणः २० वर्षको अवधिमा ४ चरणमा जग्गा हत्याइयो

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा २० वर्षको अवधिमा ४ चरणमा जग्गा हत्याइएको प्रहरीले जनाएको छ । बुधबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।

दोस्रो चरणको अनुसन्धान सुरु गरेसँगै केहीलाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यो विभिन्न समयमा गरेर चार चरणमा ललिता निवासको जग्गा हिनामिना भएको जनाएको हो ।

२०४९, २०६२, २०६७ र २०६९ सालमा गरी चार पटक सरकारी जग्गालाई व्यक्ति र गुठीको नाममा ल्याएर हत्याइएको प्रहरीले जनाएको छ ।

ललिता निवास प्रकरणमा शाहसहित हालसम्म मंगलबार सात जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ, पूर्व सहसचिव कलाधर देउजा, पूर्व उपसचिव हुपेन्द्रमणि केसी, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र गोपाल कार्की रहेका छन् ।

जसमध्ये अदालतबाट यसअघि नै स्टे अर्डर लिएका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र भुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर रिहा गरेको थियो ।

यसरी छाडिनेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रहेका छन् । देउजा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख र कपाली कर्मचारी हुन् ।

उक्त जग्गाको प्रकरणमा उनीहरूसहित उच्च पदस्त राजनीतिज्ञको समेत मिलिमतो रहेको भन्दै २०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायरा गरेको थियो । ललिता निवासको १ सय १३ रोपनी जग्गा हिनामिना भएको भन्दै अख्तियारले माघ २२ गते १ सय ७५ जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो।

ललिता निवास प्रकरण नेपालको सबैभन्दा ठूलो भ्रष्टाचार प्रकरण मध्य एक हो । यसमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, माधवकुमार नेपाल, पूर्व मन्त्री, अख्तियारका पूर्व प्रमुख आयुक्त देखि उच्चपदस्थ कर्मचारीहरु मुछिएका छन् । पूर्व मन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशीसमेत यस मुद्दामा तानिएका थिए । पूर्व सचिवहरु छवि पन्त, दिनेशहरि अधिकारी र दीप बस्नेतको नाम पनि यो सूचीमा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स