सुर्खेतका नौ पालिकाले ल्याए आठ अर्बभन्दा धेरैको बजेट

सुुर्खेत । सुुर्खेतका नौ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि कूल आठ अर्ब २७ करोड ८५ लाख ५५ हजार आठ सय ७४ बराबरको बजेट ल्याएका छन् ।

स्थानीय तहहरूले शिक्षा, स्वास्थ्य, रोजगार, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् । नौ स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिकाले सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ ।

कूल तीन अर्ब दुई करोड ६१ लाख ८९ हजार नौ सय बराबरको बजेट ल्याएको वीरेन्द्रनगरले पूँजीगततर्फ एक अर्ब २५ करोड ८९ लाख ९० हजार र चालुतर्फ एक अर्ब ७३ करोड ८४ लाख १९ हजार बजेट विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षको तुलनामा वीरेन्द्रनगरले एक अर्ब आठ करोड ५० लाख ७७ हजार चार सय ६७ ले बढी बजेट ल्याएको हो । चालु आर्थिक वर्षमा वीरेन्द्रनगरले कूल एक अर्ब ९४ करोड ११ लाख १२ हजार पाँच सयको बजेट ल्याएको थियो ।

त्यस्तै, ५९ करोड ५८ लाख ८७ हजार बराबरको बजेट ल्याएको बराहताल गाउँपालिकाले पूँजीगततर्फ २५ करोड दुई लाख ७३ हजार र चालुतर्फ ३४ करोड ५६ लाख १४ हजारको बजेट ल्याएको छ । बराहतालले अघिल्लो वर्षको तुलनामा तीन करोड १२ लाख २१ हजार छ सय २३ ले थोरै बजेट ल्याएको हो । चालु आर्थिक वर्षमा बराहतालको बजेट ६२ करोड ७१ लाख आठ हजार छ सय २३ बराबरको ल्याएको थियो ।

त्यस्तै, ६६ करोड ८१ लाख ७३ हजार सात सय ६५ बराबरको बजेट विनियोजन गरेको लेकबेंसी नगरपालिकाले पूँजीगततर्फ १८ करोड २५ लाख आठ हजार पाँच सय ६१ र चालुतर्फ ४४ करोड ६३ लाख ६९ हजार बजेट विनियोजन गरेको छ ।

चालु आर्थिक वर्ष ७४ करोड ८७ लाख नौ हजार ५७ को बजेट विनियोजन गरेको लेकबेंसीले आगामी वर्षका लागि आठ करोड ५३ लाख पाँच हजार दुई सय ९२ ले कम बजेट ल्याएको हो ।

त्यस्तै, पञ्चपुरी नगरपालिकाले ६६ करोड ९८ लाख ३४ हजार छ सय २९ बराबरको बजेट ल्याएको छ । उक्त नगरपालिकाले कूल बजेटमध्ये चालुतर्फ ३७ करोड ३३ लाख ३३ हजार र पूँजीगततर्फ २९ करोड ६५ लाख एक हजारको बजेट ल्याएको छ । पञ्चपुरीले पनि चालु आर्थिक वर्षभन्दा आगामी वर्षका लागि १९ करोड २२ लाख १४ हजार २२ ले कम बजेट विनियोजन गरेको छ । पञ्चपुरीले चालु आर्थिक वर्षका लागि ८६ करोड २० लाख ४८ हजार छ सय ५१ को बजेट ल्याएको थियो ।

भेरीगंगा नगरपालिकाले ६८ करोड ९९ लाख ८१ हजार एक सय ३९ बराबरको बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षको तुलनामा भेरीगंगाले एक करोड ४१ लख ७० हजार तीन सय ६० ले बढी बजेट ल्याएको हो । चालु आर्थिक वर्षमा भेरीगंगाले ६७ करोड पाँच लाख सात सय ७९ को बजेट ल्याएको थियो ।

कूल ५८ करोड १७ लाख ७० हजार तीन सय ५० को बजेट विनियोजन गरेको सिम्ता गाउँपालिकाले पनि चालु आर्थिक वर्षभन्दा एक करोड ७७ हजार ६३ हजार छ सय ५० ले कम बजेट ल्याएको हो । सिम्ताले चालु आर्थिक वर्षमा ५९ करोड ९५ लाख ३४ हजारको बजेट ल्याएको थियो ।

त्यस्तै आगामी आर्थिक वर्षका लागि गुर्भाकोट नगरपालिकाले ९७ करोड ९१ लाख १५ हजार सात सय ५६ बजेट विनियोजन गरेको छ । नयाँ आर्थिक वर्षमा गुर्भाकोटले भने दुई करोड ३२ लाख ८२ हजार सात सय ५६ ले बजेटको आकार बढाएको छ । चालु आर्थिक वर्षका लागि गुर्भाकोटले ९५ करोड ५८ लाख ३३ हजारको बजेट ल्याएको थियो ।

चिंगाड गाउँपालिकाले कूल ४० करोड ४६ लाख ३६ हजार दुई सय ४० बराबरको बजेट विनियोजन गरेको छ । कूल बजेटमध्ये चालुतर्फ २६ करोड ९१ लाख १५ हजार र पूँजीगततर्फ १३ करोड ५३ लाख ८८ हजार दुई सय ४० विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा ३९ करोड ३८ लाख ९६ हजार आठ सय ४० को बजेट ल्याएको चिङ्गाडले नयाँ आर्थिक वर्षका लागि एक करोड ७३ लाख नौ हजार चार सयले बजेट बढाएको छ ।

चौकुने गाउँपालिकाले ६६ करोड २९ लाख ६७ हजार २८ बराबरको अनुमानित बजेट ल्याएको छ । चालु आर्थिक वर्षभन्दा चौकुनेले नयाँ आर्थिक वर्षका लागि आठ करोड ६१ लाख २३ हजार २८ ले बजेट बढाएको हो । चालु आर्थिक वर्षमा चौकुने ५७ करोड ६८ लाख ४४ हजारको बजेट ल्याएको थियो ।

समग्रमा चालु आर्थिक वर्षको तुलनामा स्थानीय तहले ८९ करोड ७६ लाख ५८ हजार चार सय २४ ले बढी बजेट ल्याएका छन् । आर्थिक वर्ष २०७९÷८० मा सुर्खेतका स्थानीय तहले कूल सात अर्ब ३८ करोड ८९ लाख सात हजार चार सय ५० को बराबरको बजेट विनियोजन गरेका थिए ।

चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा बराहताल, पञ्चपुरी, लेकबेंसी र सिम्ता गाउँपालिकाको बजेट घटेको छ भने वीरेन्द्रनगर, चौकुने, चिंगाड, भेरीगंगा र गुर्भाकोट नगरपालिकाले बजेटको आकार बढाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स