खुवा घोटेरै मासिक लाखौं आम्दानी गर्छन् ८० वर्षीय कृष्णप्रसाद तिमल्सिना

मनहरी । हेटौंडा–६ चुच्चेखोलाका कृष्णप्रसाद तिमल्सिनाले खुवा व्यवसाय गर्न थालेको ४४ वर्ष भयो । हेटौंडाको पहिलो खुवा घोट्ने व्यवसायीका रूपमा परिचित तिमल्सिनाले २०३६ सालदेखि यो पेसा सुरु गरेका हुन् ।

उमेरले लगभग ८० वर्ष टेकिसकेको भए पनि तिमल्सिनाको खुवा घोट्ने जोश जाँगर अझै पनि घटेको छैन । उनी अहिले पनि बिहान ५ बजेदेखि राति ९ बजेसम्म खुवा घोट्नमै व्यस्त हुन्छन् । खुवा घोटेर परिवार पालनपोषणसँगै तिमल्सिनाले यही पेशाबाट कमाएको रकमले आफ्ना तीन छोरा र एक छोरीलाई अध्यापनसँगै जग्गाजमिन जोड्नसमेत सफल भएका छन्। इच्छाशक्ति भयो भने एउटै कामबाट पनि सफल बन्न सकिन्छभन्ने उदाहरणका रुपमा तिमल्सिनालाई लिन सकिन्छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ र १७ को साँधमा तिमल्सिनाको श्रीकृष्ण खुवा बिक्री भण्डार भन्ने पसल छ । अहिले कृष्णप्रसादको बिँडो माहिला छोरा बुहारीले थामेका छन् । ‘उमेरले नेटो काट्यो के गर्नु, पुरानो पेसा छाड्न सकिएन माया लाग्छ, त्यसैले अहिले पनि सकेसम्म आफैं अग्रसर हुन्छु,’ तिमल्सिना भने।

पसल छोराबुहारीले सम्हालेपछि तिमल्सिनाले यही नाममा यसैको शाखा हेटौँडा बजारमा खोले पनि २३ वर्ष भइसकेको उनी बताउँछन्। चुच्चेखोलाको व्यवसाय सुरु गरेको अहिले ४५ वर्ष भयो । जीवनको पूर्वार्द्धमा दुःखकष्ट र उकाली ओरालीहरूसँग सङ्घर्ष गर्दागर्दै अन्ततः तिमल्सिनाले खुवा व्यवसायको पहिचान बताए।

चुच्चेखोला अहिले खुवा पारखीहरुको आकर्षणको केन्द्र बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गको सप्तरीको बरमजीयामा पाइने बाजेको पेडा जस्तै चर्चित छ चुच्चेखोलाको खुवा । तपाई जो कोही जतिबेला पनि चुच्चेखोला पुग्नु भयो भने हरेक दिन बिहानदेखि बेलुकैसम्म आगो नै बालेर सफा र शुद्ध तरिकाले खुवा बनाएको प्रष्ट देख्न सकिन्छ ।

सुरुमा खुवाको बारे त्यति चर्चा नभए पनि २०३८ सालतिरबाट यसले बजार पनि पाउन थालेको हो । दूधलाई कराईमा आगोले तताएर लगभग दुई घण्टा पन्युले चलाउँदै गएपछि खुवा बन्दछ । खुवा पछिल्लो समय कोसेलीका रुपमा पनि लिने गरिन्छ । यसको बजार नेपालभर मात्र होइन, विदेशमा पनि कोसेलीका रुपमा पनि पुग्ने गरेको तिमल्सिना बताउँछन्। यसले देशको अर्थतन्त्रमा पनि ठूलै हिस्सा जोडेको छ ।

गोरेटो बाटो रहेकाले उतिबेला हिँडडुल गर्नेहरुको चहलपहल खासै नभएकाले व्यापारको सुरुआती दिन सम्झिँदा तिमल्सिना भन्छन्, ‘त्यस समयमा खुवाको व्यापारबाट दैनिक एक किलो खुवा बेच्न पनि मुस्किल थियो ।’

आफ्नो परिश्रममा विश्वास राख्ने तिमल्सिनाले पेशाप्रतिको इमान्दारीतालाई पनि मर्न दिएन भन्दै निरन्तर लागिरहे । मिहेनतमा भरोसा गर्नेले एक दिन अवश्य सुख पाउने छ भन्ने आशा राखेर उनले यही पेशालाई आफ्नो जीवनको उत्तरार्द्धसम्म पनि निरन्तरता दिइरहेका छन् । पहिला प्रतिकेजी १५ रूपैयाँसम्म खुवा बेचेको उनी सम्झिन्छन् । अहिले त खुवाको मूल्य प्रतिकेजी ७ सय रुपैयाँ पुगेको छ ।

पहिलापहिला खुवाका लागि दैनिक १० लिटर दूध घोट्ने तिमल्सिना पछिल्लो एक दशकयता दैनिक दुई सय लिटरसम्म दूध घोट्ने गर्छन् । खुवाको लागि भैंसीको दूध चाहिने भएकाले पछिल्लो समय भैँसीपालनमा भन्दा बढी गाईपालनमा कृषकहरु आकर्षित भएपछि खुवाको लागि भैँसीको दूध जुटाउन तिमल्सिनालाई निकै समस्या आइपरेको छ ।

छोराबुहारीले विभिन्न गाउँबाट मगाउँछन् अहिले पनि दैनिक चार सय लिटरसम्म दूध खरिद गरी खुवा घोट्ने काम भइरहेको उनी बताउँछन् । चार लिटर दूध बराबर एक किलो खुवा उत्पादन हुने हुँदा तिमल्सिनाको पसलमा दैनिक ७५ किलोसम्म खुवा उत्पादन हुने गर्दछ । उनले पसलबाटै प्रतिकेजी ७ सय रुपैयाँमा खुवा बेच्नछन् । यही व्यवसायबाट दैनिक खर्च कटाएर मासिक लाखौँ रुपैयाँ आम्दानी गरिरहेको उनको भनाइ छ ।

तिमल्सिनाको फरक पेशाले साँच्चै नै व्यावसायिक क्रान्ति छर्न सकिन्छ भन्ने उदाहरण बन्नु भएको छ तिमल्सिना । अहिले त हेटौंडाको चुच्चेखोलामा मात्र लगभग दर्जनभन्दा बढी खुवाका पसलहरू छन् ।

तिमल्सिना मात्र होइन, यही पेशाबाट उनका छिमेकी श्यामकुमार मानन्धरले पनि आफूलाई खुवा व्यवसायीका रुपमा परिचित बनाएका छन्। विगत २४ वर्षदेखि चुच्चेखोलामा मानन्धरले खुवा बेच्दै आएका छन् । उनी पनि एक सफल खुवा व्यवसायीका रुपमा परिचित छन् । मानन्धरले सञ्चालन गरेको कृष्ण कन्हैया खुवा भण्डार पनि साढे दुई दशक पुग्न थाल्यो ।

उनको भण्डारमा ग्राहकहरुको बाक्लो भीड लाग्ने गरेको देख्न सकिन्छ । वि.सं २०५६ तिरबाट खुवा बनाउन सुरु गरेका मानन्धरले अहिले खुवा बेचेर फुर्सद पाउँदैनन् । दैनिक १५० लिटर दूध खपत गरेर २० किलोभन्दा बढी खुवा बनाउने गरेको मानन्धर बताउँछन् ।

यस स्थानमा लहरै रहेका झण्डै दर्जनभन्दा बढी खुवा पसल सञ्चालनमा छन् । स्थानीय कृषक तथा डेरीबाट दूध किनेर खुवा बनाउने गरेको बताउदै मानन्धरले खुवाको प्रचार हुँदै जाँदा अहिले पसलको खुवा हेटौंडामा मात्रै नभई पोखरा वीरगञ्ज, चितवन, जनकपुर काठमाडौंसम्म पुग्ने गरेको बताउँछन्। विसं २०५६ बाट खुवा बेच्दै आएका मानन्धरले पनि खुवाकै व्यापारबाट मात्र अहिले मासिक एक लाख आम्दानी गर्दै आएको बताउँछन् ।

खुवा सबैले देख्ने गरी बनाइन्छ, यसको मीठो बास्नाले गर्दा होला कान्तिलोकपथ भएर यात्रा गर्ने होस् या गर्मी छल्न आउने जो कोही पनि खुवाको मीठो स्वाद चाखेर जाने गर्छन् ।

चुच्चेखोलाको खुवाको चर्चा धेरै सुन्ने गरेको तर आज कान्तिलोकपथ भएर यात्रा गर्ने क्रममा खुवा चाख्ने मौका मिल्यो मानन्धरको पसलमा खुवा खाँदै गरेका रौतहट फतुवा विजयपुर नगरपालिका–१० बस्ने औधेस चौधरीले बताए। चौधरीले आफू तराईकोे बासिन्दा भए पनि खुवा चाख्ने मौका मिलेको र यहाँको खुवाका स्वाद निकै स्वादिष्ट भएको प्रतिक्रिया दिए। यस पेशाबाट आफूले घर व्यवहार चलाएको र जग्गा पनि किनेको बताउदै मानन्धरले आफू यस व्यवसायबाट सन्तुष्ट रहेको बताए।

उनको २४ वर्षदेखिको पेशाप्रतिको मेहनत र लगावले मानन्धर अहिले जिल्लाकै सफल खुवा व्यवसायीको रुपमा गनिनु हुन्छ । मानन्धरसँगै रहेको लक्ष्मीनारायण खुवा पसलका सञ्चालक ६६ वर्षीय सोमनाथ तिमल्सिना पनि खुवा व्यवसायबाटै चर्चामा छन् । सोमनाथले यो काम थालेको ३५ वर्ष बढी भयो । यही पेशाबाट सोमनाथले पनि आफनो परिवार धान्दै आयआर्जन गरिरहेका छन्।

उनको पनि दैनिक दाउरा, दूध खरिदको खर्च कटाएर मासिक लाख रुपैयाँ बच्ने गरेको बताउँछन् । सोमनाथको पसलमा उत्पादन हुने खुवा पोखरासम्म पुग्छ । दैनिकरुपमा बसमार्फत पोखरामा खुवा पठाउने गरिन्छ । हेटौँडा बाहिरका मिठाइ व्यवसायी र होटलहरुले चुच्चेखोलाको खुवा लैलाने गर्दछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स