सुनिल के.सी वाणिज्य बैंकहरूको छाता संस्था नेपाल बैंकर्स संघको अध्यक्ष र एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत हुन् । बैंक तथा वित्तीय क्षेत्रमा राम्रोसँग जमेर केसीले यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । पूर्व सीईओ उपेन्द्र पौड्यालको अवकासपछि सीईओ देखिएका समस्या, चुनौती एवम् यसको दीर्घकालीन समाधानका विषयमा हाम्रोअर्थकी सम्पादक मेनुका कार्कीले गरेको कुराकानीको सम्पादित अंशः
हामीले खुला बजार अर्थनीति अपनाएका छौं । ब्याजको विषयमा कुरा गर्न राष्ट्र बैंकले पनि हामीले २०४८ सालमै ब्याजको नियमन गर्न छाडिसक्यौ भन्छ, यसमा नियमन हुँदैन भन्छ, हामी वाफिया पनि अवलम्वन गर्छौ, स्प्रेडदर राष्ट्र बैंकले तोक्न हुन्छ कि हुँदैन ? यो तोक्नु ठिक हो कि होइन ?
२ वर्षअघि बैकिङमा ५ प्रतिशत स्प्रेड भएको अवस्था थियो । कोभिडका बेला व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न ल्याइएको ठिकै हो । बैकिङ क्षेत्र भनेको विशिष्टिकृत क्षेत्र वा संस्था हो । यसको भूमिका अर्थतन्त्रमा जहिले पनि क्याटलिष्टिकको रोल खेल्नेमा हुन्छ ।
४ करोड ८५ लाख खातामा छरिएर रहेको पैसाबाट १८ लाख ऋणीलाई सेवा दिएको अवस्था हो । यसको लागि बैंक सवल हुुनुपर्यो । सवल भएर नै यो काम गर्न सम्भव भएको हो । यसको भूमिका अन्यको भन्दा फरक छ । निक्षेपकर्ताको पैसा सुरक्षित भएको प्रत्याभूती दिनु नै बैंक स्ट्रङ बन्नु पनि हो । पछिल्लो समय बैंक परम्परागत अभ्यासबाट डिजिटलाइजेसनतर्फ गहिरहेको अवस्था छ । प्रविधिमा प्रवेश गरिरहेको यो अवस्थामा हामीले लगानी घटाउँदै लैजाने हो भने यसबाट नाफा लिन सकिदैन । नेपालको बैकिङ सिष्टम मोडल सिष्टममा प्रवेश गरेको चार दशकमात्रै भएको छ । हामीले प्रविधिमा पनि थुप्रै लगानी गर्नुपर्ने अवस्था छ ।
छोटो समयमा नेपाली बैंकहरूले यो अभ्यास गरेका हुन् । यस्तो अवस्थामा रहेको बैंकलाई आफ्नो योजनाअनुसार हिड्न नदिने हो भने भोलि गएर अप्ठ्यारो परिस्थिति आउन सक्छ । विशेष कारणवश तत्कालीन समयका लागि गरिएको विशेष व्यवस्थालाई हामीले पनि सपोर्ट गरेका हौं । तर, दीर्घकालीन रुपमा जाने हो भने स्प्रेडदरलाई खुला रुपमा छाडिदिनु पर्छ । यसरी कसिरहँदा बैकको आफ्नै समृद्धिको कुरा होला, डिपोजिटर र ऋणीको कुरा होला, सेयरधनीलाई उचित प्रतिफल दिनुपर्ने कुरा होला । यी सबैलाई यसले कस्छ ।
फेरि यी कुरालाई जोगाउन सकिएन भने बैंकहरू अप्ठ्यारो अवस्थामा पर्न सक्छन् । त्यसले बैंकहरूलाई खुला छोडिदिँदा बैंकहरू अझ आफै सवल बन्ने हुँदा आर्थिक क्षेत्रको विकासको लागि यसलाई अघि बढाउनको लागि महत्वपूर्ण भूमिका खेल्न सक्छ । बैंकलाई सधै कसेर हुँदैन । खुला रुपले उसको बिजनेश व्यवसाय गर्न छाडिदिनुपर्छ भन्ने हो ।
राष्ट्र बैंकले बैंक रेट घटायो, पोलिसी रेट भने घटाएन, किन नघटाएको होला, घटाइ हाल्ने समय नआएको हो ?
मेरो बुझाइमा अहिले राष्ट्र बैंकले बैंक रेट घटाउँदा पनि बैंकहरूलाई केहि सहज भएको छ भन्ने हो । बैंक रेट घट्दा स्थायी तरलता सुविधा (एसएलएफ) पनि १ प्रतिशतले घट्छ । यसको संकेत भनेको अब विस्तारै ब्याजदर घट्दै जान्छ भन्ने हो । राष्ट्र बैंकले जे गरेको छ त्यसले ब्याजदर घटाउन अवश्य पनि राम्रै मद्दत गर्छ भन्ने मेरो बुझाइ हो र यथार्थ पनि त्यहि हो ।
पोलिसी रेट नघटाउनुको कारण भनेको चाहिँ अहिले पनि मूद्रास्फिति नघट्नु हो । यहि कारणले पोलिसी रेट नघटाएको हो । डिपोजिटरलाई दिने रेट र मूल्यवृद्धिको रेट हाराहारीमा भएन भने भोलिका दिनमा डिपोजिट अन्तै जान पनि सक्ने हुन्छ । त्योभन्दा कम दिएर अर्थ पनि छैन । बैंकहरू सर्वसाधारणको पैसाबाट चल्ने भएकाले सन्तुलन तरिकाबाट सधै सजक भएर चल्नुपर्छ । बैंकहरूले तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन परिस्थितिको समेत आँकलन गरेर अगाडि बढ्नु पर्ने हुन्छ ।
अहिले तरलता सहज भएपछि हामी एसएलएफको प्रेसरमा छैनौ । राष्ट्र बैंकले जहिले पनि सांकेतिक रुपमा मार्ग निर्देश गरिरहेको हुन्छ । बैंक रेट घटाएको संकेत अब ब्याजदर घट्छ भन्ने हो । पछिल्लो समय बैंकहरूको बेसरेट पनि घट्दै गहिरहेको छ । बेसरेट घट्ने क्रम जारी छ ।
१३ प्रतिशतभन्दा माथि पुगेको कर्जाको ब्याजदर अब विस्तारै घट्दै जाने अवस्थामा छ । राष्ट्र बैंकले पनि पछिल्लो ३ महिनाको बेसरेटको औसतबाट आगामी महिनाको बेसरेट समायोजन गर्न सक्ने व्यवस्था गरेकोे छ । फेरि अर्को भनेको राष्ट्र बैंककै नियम अनुसार स्प्रेडरेटलाई असारमसान्तसम्म ४ प्रतिशतमा झार्नुपर्ने अवस्था छ । यो कारणले पनि अब ब्याजदर घट्छ, घट्ने देखिरहेको छ ।
त्यसो त बजारमा जहिले पनि सबैभन्दा बढी चर्चा ब्याजदरकै हुन्छ । केहि समय अघि बजारमा बैंकको ऋण नै नतिर्ने, तिर्नु नपर्ने भनेर खुब ह्युमर फैलाइयो । ४/५ महिना अघि यो विषयले धेरै नै चर्चा पनि पायो । पछिल्लो समय ब्याजदर घट्दै गएको छ ? अहिले बैंकहरूले लिइरहेको ब्याजदर बढी, कम वा ठिक्कै के हो ?
म पहिला त्यति बेलाको समयमा फर्कन चाहन्छु, जति बेला बैंकका विषयमा नचाहिँदा ह्यूमरहरू आए । कर्जा लिएपछि तिर्दिन भन्नु वदमासी हो, अझ भन्नु पर्दा विद्रोह हो, अपराध हो । बैंकको सम्पत्ति त आम पब्लिकको सम्पत्ति हो । अर्थतन्त्र स्लो हुँदा व्यापार व्यवसायमा परेको असरको विषयमा ऋणी जति चिन्तित हुनुहुन्छ, हामी पनि त्यतिकै चिन्तित छौं । उहाँहरूको व्यापार व्यवसाय राम्रो हुुनु भनेको हाम्रो लागि पनि राम्रो हो । हाम्रो लगानी छिाटो फिर्ता आउँछ । समयमा ब्याज पाउँछौं । रिक्स कम हुन्छ । हामी एउटै डुङ्गामा छौं, एउटा डुब्यो भने त्यसको असर दुबैपक्षलाई पर्छ । यो कुरा बुझ्न जरुरी छ ।
माघयता १२.१३ प्रतिशत भएको डिपोजिट रेट अहिले आएर १० प्रतिशतभन्दा कममा झरेको अवस्था छ । ब्याजदरको तल्लो विन्दु ७.९९ प्रतिशतमा आइसकेको अवस्था छ । तर, हामीले सचेत हुनुपर्ने कुरा के हो भने हामी निक्षेपको रेटमा पनि कर्जाको रेट जतिकै सचेत छौं त्यति नै कर्जाको दरमा पनि सचेत हुुनुपर्छ भन्ने हो । डिपोजिटरको रेन्चलाई पनि हेर्नु पर्ने हुन्छ । नगेटिभ रेन्चमा लैजानु हुँदैन । हामीले निक्षेपकर्ताको हितमा पनि हेर्नुपर्छ ।
डिपोजिटररूले डिपोजिटबाट कमाउने रेट कम्तिमा पनि मूद्रास्फितिको हाराहारीमा भएन भने भोलिका दिनमा बैंकहरूमा डिपोजिट नै नआउने स्थिति पनि आउन सक्छ । यसले अर्को अप्ठ्यारो अवस्था सिर्जना सक्छ । एउटा टाइममा ब्याजदर १३ प्रतिशत नाघिसकेको थियो । अहिले घट्ने क्रम जारी छ । असारमा फेरि अर्को आधार दर आउँछ र त्यसले फेरि ब्याजदर घटाउने नै हो ।
पछिल्लो समय ऋणीहरू ब्याक लिष्टमा पर्नेको संख्या बढिरहेको छ ? रिकभरी त्यति हुन सकिरहेको छैन भनेर तपाईहरूले भनिनै रहनु भएको छ । यसको चाप थेग्न बैंकहरूलाई अझ गाह्रो हुने पो हो कि अर्थात एनपीए अझ बढ्ने हो कि ?
अहिले एनपीए बढ्नुको प्रमुख कारण भनेको कोभिडको टाइममा गरिएको लगानी हो । यो शताब्दीकै ठूलो महामारी हो । संसार भर एकै पटक यस्तो महामारी आउँदा यस्तो हुनु स्वभाविक पनि हो । विषम परिस्थितिमा राष्ट्रले पनि ऋणीलाई सपोर्ट गरेकै हो । हामीले पनि सपोर्ट गरेकै हौं । राष्ट्र बैंकको निर्देशन अनुसार हामीलाई जे जे गर्ने भन्यो चुपचाप त्यहि गर्यौ । उद्यम व्यवसाय रिभाइको लागि सहयोग गरेकै हो । हाम्रोमा लोन डिफल्टर बढेपछि प्रोभिजिङ गर्ने व्यवस्था छ ।
त्यसो त साउथ एसियाका अन्य मुलुकहरूमध्ये नेपालको एनपीएल त्यति धेरै मानिदैन र अहिले नै आत्तिनु पर्ने अवस्था पनि आएको होइन । अहिले पनि नेपालको बैकिंङ क्षेत्र साउण्ड एण्ड हेल्दी छ । त्यसले गर्दा पनि हामी आत्तिहाल्नु पर्ने अवस्था छैन । अहिलेको लसलाई हेर्ने हो भने केहि सजक भने हुुनु नै पर्ने हुन्छ । सट्रेन लेभलमा कर्जाहरू डिफल्टर भइरहेका छन् ।
राष्ट्रले साना तथा मझौला उद्यमीलाई सहजीकरण गर्ने नीति लिएको छ । मौद्रिक नीतिको तेस्रो समीक्षाले लिएको व्यवस्थाले पनि केहि सहज गर्ला । तर, अहिलेको अवस्थामा एनपीएको कारणले बैंकहरूलाई केहि अप्ठ्यारो भने परेको हो । विस्तारै सहज हुँदै जान्छ भन्ने हो । आत्तिनु पर्ने अवस्थामा हामी छैनौ । सबैले सहयोग गर्नुपर्ने अवस्था भने पक्कै हो ।
आईएमएफले पनि नेपालको बैकिङ इण्ड्रष्ट्रिज जोखिममा छ भनेको अवस्था छ । साँच्चै नेपालको बैंकहरू जोखिममा नै छन् त ?
बैंकिङ व्यवसाय भनेको रिक्समै गर्ने वा चल्ने व्यवसाय हो । हामीले सबैतिर छरिएको डिपोजिटलाई एकै ठाउँमा ल्याएर जस्ले तिर्न सक्छ वा रिर्टन आउँछ भन्ने हुन्छ उसलाई ऋण दिने हो । ऋण लिएका ऋणीले ऋण नतिर्ने रिक्स सधै भइनै रहन्छ । साइबर सेक्युरिटीको पनि त्यतिकै रिक्स छ । आज हामी ७५२ पालिकामा पुग्दै गर्दा ५५ हजार म्यानपावर लिएर काम गरिरहेका छौ । जति धेरै प्रविधि र म्यानपावरकोे प्रयोग त्यति नै बढी रिक्स । हामीले बढ्दै गएको रिक्सलाई कसरी घटाउने भनेर यो क्षेत्रमा काम पनि ठूलो लगानी गरेर काम गरिरहेका छौं ।
प्याण्डामिकमा रिक्स बढ्छ नै । यहाँ मात्रै बढेको होइन सबैतिर बढेको हो । गभर्नर सायवले पनि नेपालका बैंकहरू साउण्ड र हेल्दी छन् भनेर भनिनै रहनु भएको छ । तरलता व्यवस्थापनको विषयमा भने हामी अलि कमजोर देखिएका छौं । तै पनि अहिलेको रिक्स थाम्नै नसक्ने रिक्स भने होइन । आईएमएफले केहि सट्रेन विषयमा प्रश्न उठाएर यसको व्यवस्थापन गर्नुपर्छ मात्रै भनेको हो ।
आईएमएफले नेपालको रिक्स म्यानेजमेण्टलाई अन्तर्राष्ट्रिय लेभलमा लैजानु पर्छ भनेको हो । हामी अहिले नै एनएफआरएसमा गहिसकेका छौं । त्यसले पनि केहि रिक्स म्यानेज गरेको छ । अहिले हामीसँग भएको प्रोभिजिङसँग सम्बन्धित नीति नियमहरू अन्तर्राष्ट्रियस्तरको भन्दा बलियो छ । हाम्रो रेगुलेटर असध्य बलियो छ । अहिले कै अवस्थामा लगियो भने पनि हामी कतिपय कुरामा अरुभन्दा अगाडि हुन्छौं । त्यसरी गर्यौ भने अहिले हाम्रो नियमनले लगाएको कतिपय सीमा केहि तल पनि झर्न सक्छ ।
इन्टरनेशलन अलाइन्समा कसरी लिएर जाने भन्ने उहाँहरूको चासो हो । भारत अहिलेसम्म आईएफआरएसमा गएको छैन । कहिले काहिँ कम्युनिकेशनका कारणले पनि यस्तो कुरा आउँछ । तर, बजारमा भएको हल्ला जस्तो नेपाली बैंकको अवस्था भने छैन ।
केहि चुनौती छन्, देशमै चुनौती छ । बैकिङ क्षेत्रमा पनि चुनौती हुने नै भयो । तर, पनि हामी अहिले पनि सवल छौं । पारदर्शी छौं । हामीसँग जे छ त्यो सबैलाई घाम जतिकै छर्लङग छ । क्यापिटलको हिसाबले पनि हामी अहिले ठिकै अवस्थामा छौं, सुहाउँदो नै छ । बैंकका सबै इन्डिकेटरहरू राम्रो अवस्था छन् वा सकारात्मक छन् । एनपीए केहि बढेको अवस्था हो ।
साइबर सेक्युरिटीलाई बैंकहरूले त्यति प्राथमिकतामा नराखेको जस्तो देखिन्छ नि ?
होइन, राष्ट्र बैंकको रेगुलेसनको हिसाबले पनि धेरै कुरा गर्नुपर्ने हुन्छ । कोभिड पछाडि हामी जसरी डिजिटाइजेसनमा गयौं, त्यसले केहि रिक्स भने पक्कै थपेको छ । यो यस्तो रिक्स हो जसलाई प्रपर म्यानेज गरिएन भने अप्ठ्यारो अवस्था आउन सक्छ । त्यसैले बैंकहरू यसमा सिरियस नै छन् र प्राथमिकतामा राखेर काम पनि गरिरहेका छन् । बैंकहरूबाट साइबर रिक्स व्यवस्थापनको लागि ठूलै लगानी पनि भएको छ । हाम्रै बैंक(एनएमबि) को कुरा गर्दा पनि बोर्डबाटै रिक्स व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेको छ । हामीले अपरेसनमा धेरै सजकता अपनाएका छौं । पोलिसी पनि राम्रै आएको छ । रिक्स म्यानेज नै गर्न नसक्ने अवस्था भने हामी छैनौं ।
रिक्सलाई ठ्याक्कै जिरो बनाउन सकिदैन । तर, हुन सक्ने जति प्रविधि वा सोलुुसनहरू छन् त्यसको प्रयोग गरेर यसलाई कम गर्नेमा बैंकहरू सधै सजक छन् । पछिल्लो सयम यो क्षेत्रमा पनि ठूलो लगानी भएको छ ।
अहिले मुख्य सहरका सटरहरू बन्द भएको देखिन्छ । उहाँहरूले वर्षौदेखि गर्दै आएको मेहनत र पुँजीलाई त्यतिकै छाडेर अब नसकिने भयो भनेर सटर बन्द गरेर हिड्नु पर्ने अवस्था आएको छ । यस्ता क्षेत्रलाई उकास्न बैंकिङ क्षेत्रले गर्नुपर्ने कामहरू के के गर्नुपर्छ ?
विजनेश व्यापारमा आएको मन्दीले केहि व्यवसायमा त्यस्तो अवस्था पनि आएको होला । तर, तपाईले भनेको जस्तै भएको भए केहि न केहि देखिन्थ्यो होला । फेरि अहिले हेर्ने हो भने भाटभटेनी जस्तो ठूलो डिपार्टमेन्ट स्टोरमा पैसा तिर्नकै लागि आधा घण्टा लाइन बस्नु पर्छ । फाइभ स्टारको बारमा गएर हेर्ने हो त्यहाँ पनि मान्छेहरूको फ्लो कम देखिदैन ।
यद्यपि यति ठूलो महामारीपछि अर्थतन्त्र डाउन हुनु स्वभाविक हो । यो साइकल पनि हो । कहिले माथि जाने त अहिले तल झर्ने । अहिले गाह्रो अवस्था पक्कै हो । यसले हामीलाई मात्रै यस्तो भएको भन्नु भन्दा पनि यसलाई कसरी न्यूनीकरण गर्न सहजीकरण गर्ने भन्ने हो ।
पहिला २ करोडभन्दा मुनिको विजनेश र अहिले ५ करोडसम्मको कर्जामा २०८० असार मसान्तभित्र पुनरसंरचना/पुनरतालिकीकरण गर्न सक्ने सुविधा राष्ट्र बैंकले दिएको छ । उनीहरूलाई सेवा सुविधा दिएर अघि बढाउन यो कुरा आएको हो । राष्ट्र बैंकले उनीहरूलाई अगाडि धकेल्नको लागि अर्थात जोगाउनको लागि यस्तो नीति ल्याएको हो । कोभिडको बेलामा राष्ट्र बैंकले ल्याएको नीति अनुसार बैंकहरूले ऋणीहरूलाई ठूलो सहयोग गरेकै हो । अहिले पनि पर्यो भने हामी त्यो गर्न तयार छौं ।
अहिले बैंकहरूसँग ३ खर्ब लगानी योग्य पुँजी छ भनिएको छ । बैंकहरूले ढुक्कसँग लगानी गर्ने दिन कहिले आउँछ ?
लगानी नगरी बैंकहरू टिक्न सक्दैनन् । लगानी गर्नकै लागि हामीले डिपोजिट लिएका हौं । हामी सधै लगानी गर्न तत्परनै छौं । हामीलाई लगानी नगरी सुखै छैन । जब लगानीबाट रिर्टन आउँछ वा परिस्थिति सहज बन्छ, दिएको ऋण सहज ढंगबाट उठाउन सकियोस् भन्नेमात्रै हो । लगानीको रिर्टन पाउने प्रत्याभूती हुुनुपर्छ ।
निजी क्षेत्रले राम्रो ग्रोथ हुन थालेपछि, दिगो रुपमा ग्रोथ हुन थालेपछि बैंकले लगानी गरिहाल्छ । त्यसको लागि आर्थिक गतिविधिहरू बढ्नु पर्छ । सरकारी क्षेत्रबाट पनि इन्भेष्टमेन्ट हुँदै जानुपर्यो । उद्योग व्यवसाय बढाउन तथा गर्नको लागि निजीलाई मोटिभेट गर्नुपर्यो, विश्वासको वातावरण तयार हुनुपर्छ । पहिला पनि गरेकै हो । अहिले पनि गर्ने र भोलि पनि यसरी नै गर्ने हो । बैंकले अझ ठुक्क भएर लगानी गर्छ । अहिले पनि कुल गार्हस्थ्य उत्पादनमा ९० प्रतिशत जति बैंककै हिस्सा रहेको छ ।
अहिले हामीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्छ । यसमा लगानी गर्यौ भने भोलिका दिनमा यसले बैकिङ क्षेत्रलाई पनि सपोर्ट गर्ने अवस्था आउँछ ।
अन्त्यमा
पछिल्लो समय नेगेटिभ कुरा बढी भइरहेको छ । यसमा सिल्भर लाइन पनि छ भनेर हेर्नुपर्छ । समस्या छ नभएको होइन । समस्याका साथै अवसर पनि छ भनेर बुझ्न जरुरी छ । नेपालको अर्थतन्त्र वा बैकिङ क्षेत्र जस्तो सुकै परिस्थितिमा पनि चाडै नै बाहिर आएको अवस्था छ । यो पटक पनि यस्तै हुन्छ । हामी लामो समयसम्म यो सफरमा रहँदैनौ ।
सरकारदेखि नियामक निकाय तथा प्राइभेट सेक्टर सबै पोजेटिभ माइन सेट गरेर अगाडि बढ्दै जाने हो भने चाँडै नै अहिलेको जटिल परिस्थितिबाट बाहिर निष्कन सहज हुन्छ भन्नेमा म विश्वस्त छु । सबै मिलेर देशलाई यो समस्याबाट बाहिर निकाल्न लाग्नु पर्छ भन्ने मेरो भनाइ हो ।