काठमाडौं महानगरद्वारा ११ महिनामा आठ अर्ब राजस्व संकलन

काठमाडौं । महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा आठ अर्ब राजस्व संकलन गरेको छ । आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९\८० को ११ महिनामा ८ अर्ब २९ करोड ९५ लाख ५९ हजार दुई सय ७८ राजस्व संकलन गरिएको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । उनका अनुसार यो रकम महानगरको राजस्व लक्ष्यको ७९ प्रतिशतमात्रै हो ।

महानगरपालिकाले चालु आवका लागि राजस्व लक्ष्य १० अर्ब ४२ करोड ९५ लाख राखेको थियो । यसमध्ये सबैभन्दा धेरै प्रगति महानगरले आन्तरिक आयतर्फ गरेको छ । राजस्व संकलनमध्ये महानगरपालिकाले आन्तरिक आयतर्फ ९८.८७ प्रतिशत हासिल गरेको जनाएको छ ।

महानगरपालिका ४ अर्ब ८५ करोड आन्तरिक आयको राजस्व लक्ष्यमध्ये ४ अर्ब ७७ करोड उठाएको हो । जुन अघिल्लो आवको भन्दा एक अर्ब बढी भएको विभागले जनाएको छ ।

विभागका अनुसार आव २०७८÷७९ मा महानगरले ३ अर्ब ७२ करोडमात्रै आन्तरिक आय संकलन भएको थियो । महानगरपालिकाले आन्तरिक आयतर्फ घरबहाल करमा एक अर्ब ९२ करोड १२ लाख ८० हजार राजस्व संकलन गरेको छ ।

चालु आवमा महानगरपालिकाले यो शीर्षकमा दुई अर्ब राजस्व उठाउने लक्ष्य राखेको थियो । यस्तै सम्पत्ति करमा ९१ करोड ३३ लाख राजस्व सङ्कलन गरेको छ । जुन अघिल्लो आवको भन्दा १२ करोडले बढी भएको जनाइएको छ ।

महानगरलाई राजस्व लक्ष्यमा पुग्न राजस्व बाँडफाँट भएर आउने रकमले असर परेको देखिएको छ । यसैगरी महानगरले बाँडफाँटबाट प्राप्त हुने राजस्वबाट एक अर्ब ५५ करोड ८९ लाख जम्मा गरेको छ ।

राजस्व बाँडफाँट पाउनुपर्नेमा महानगरपालिकालाई प्राप्त भएको अघिल्लो आवको भन्दा झन्डै एक अर्बले कमी भएको देखिन्छ । गत आव २०७८\७९ मा राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम एक अर्ब ७५ करोड ५४ लाख थियो, जनु एक सय छ प्रतिशत रहेको थियो । तर यो पटक लक्ष्यको जम्मा ४५ प्रतिशतमात्रै महानगरलाई बाँडफाँट भएको हो ।

गत आवमा दुई अर्ब ५८ करोड २५ लाख राजस्व बाँडफाँटबाट आउने रकम लक्ष्य राखेकामा जेठ मसान्तसम्म दुई अर्ब ७५ करोड ५४ लाख अर्थात् एक सय छ प्रतिशत बाँडफाँट भएको थियो । तर, चालु आव तीन अर्ब ४१ करोड ३१ लाख लक्ष्य राखेकामा एक अर्ब ५५ करोड ८९ लाखमात्रै उठेको हो ।

महानगरपालिकाको राजस्व विभागका अनुसार चालु आवको राजस्वको लक्ष्य भेटन् नसक्नुमा महानगरलाई प्राप्त हुने राजस्व बाँडफाँट हो । विभागका प्रमुख ध्रुव काफ्लेले महानगरले पर्याप्त आन्तरिक राजस्व उठाए पनि बाँडफाँट भएर आउने रकम कम हुँदा लक्ष्य प्राप्तिको दूरी टाढा भएको बताए । राजस्व विभागका अनुसार चालु आवमा आन्तरिक अनुदानतर्फ एक अर्ब ९६ करोड ९६ लाख महानगरको राजस्व जम्मा भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स