सेबोनले गर्यो घोराही सिमेन्टको आईपीओ निष्काशन कार्य स्थगन, ठूलो चलखेलको आंशका

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले घोेराही सिमेन्टको आईपीओ निष्काशन कार्य स्थगन गरेको छ । बोर्डको सोमबार बसेको बैठकले कम्पनीले कुनै आधार बिना आईपीओ भर्ने म्याद थप गरेका कारण हाललाई स्थगन गर्ने निर्णय गरेको हो ।

बोर्डले सर्वसाधारण लगानीकर्ताहरुको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो ।

यस्तो छ बोर्डको निर्देशन
‘उपर्युक्त सम्बन्धमा तहाको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सार्वजनिक निष्काशन भएको घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडलाई प्रदान गरेको इस्युअर रेटिङ, क्रेडिट रेटिंग नियमावली, २०६८ को नियम ३४ को उपनियम (२) विपरित भएरनभएको वारेमा केयर रेटिङ नेपाल लिमिटेडलाई तीन (३) दिन भित्र स्पष्ट गरी पेश गर्न मिति २०८०/०२/३० मा पत्राचार गरिएकोमा केयर रेटिङ नेपाल लिमिटेडले हालसम्म जानकारी पेश नगरी कुनै आधार बिना म्याद थपको लागी अनुरोध गरेको साथै उक्त कम्पनीको सार्वजनिक निष्काशनमा माग भन्दा वढी कित्ता शेयरको लागि आवेदन प्राप्त भइसकेको अवस्थामा समेत सार्वजनिक निष्काशनको समयावधि थप गर्न सूचना प्रकाशित गरेको देखिएको सन्दर्भमा सर्वसाधारण लगानीकर्ताहरुको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै उक्त कम्पनीको रेटिङ र सार्वजनिक निष्काशन सम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न निर्णयानुसार जानकारी गराइन्छ । ’

कम्पनीको आईपीओ खरिद गरेर पनि ठूलो मात्रामा अस्वीकृत (अनभेरिफाइड) भएपछि मिलेमतोमा बदमासी गरेको आशंका गरिएको छ । सिडीएस एण्ड क्लियरिङले कम्पनीको आईपीओमा ठूलो मात्रमा झुटो आवेदन परेको जनाएको छ ।

सीडीएससीका अनुसार ६५ हजारभन्दा बढी आवेदकबाट परेको ८५ लाखभन्दा बढी कित्ता आवेदन रद्दा भएको छ।

६ आवेदकबाट परेको ६० लाख कित्ता सेयर माग रद्द गरिएको सीडीएससीले जनाएको छ। यी आवेदकमध्ये एउटैले १०–१० लाख कित्ता सेयर माग गरेको तर, माग गरिएको सेयरका लागि पुग्ने पैसा बैंकमा नभएपछि आवेदन रद्द गर्नुपरेको सीडीएससीले जनाएको छ ।

यो हिसाबले यो आईपीओमा अहिलेसम्म परेको करिब ५० प्रतिशत सेयर माग रद्द भएको छ।

कम्पनीले ओभरसब्सक्राइब्ड भइसकेको आईपीओमा आवेदन दिने म्याद थप गर्नु र करिब ५० प्रतिशत सेयर माग रद्द हुनुले यसमा ठूलै चलखेल हुन सक्ने प्रस्ट देखिन्छ।

यस्तो छ सिडीएससीले निकालेको सूचना :

‘संगठित संस्थाले जारी गरेको सार्वजनिक निष्कासनमा आफ्नो बैक खातामा मौज्दात नराखी वा खातामा मौज्दात रहेको भन्दा बढी रकमको आवेदन दिई संस्थाले जारी गरेको धितोपत्रको सार्वजनिक निष्कासनमा प्राप्त आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य गरेमा सो कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार झूटा एवं जालसाजी युक्त कारोबार हुने भएकोले यस्ता कार्य गर्ने व्यक्ति वा संस्थालाई सो ऐन अनुसार कानुनी कारबाही हुने व्यहोरा जानकारी गराउँदै यस किसिमको कार्य नगर्न नगराउनुहुन सम्बन्धित सम्पूर्णलाई सूचित गराइन्छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स