पूर्व अर्थमन्त्री डा.खतिवडाले मौद्रिक नीतिका सम्बन्धमा राष्ट्र बैंक, बैंकर र व्यवसायीलाई दिए एक दर्जन टिप्स

सेयर बजारका उत्थानमा देखिए पूर्व गभर्नर

पूर्व अर्थमन्त्री तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.युवराज खतिवडाले कम्तिमा पनि १० प्रतिशत संस्थापक सेयर बिक्री प्रक्रिया खुला गर्नुपर्ने बताएका छन् । नेपाल व्यवस्थापन संघ (म्यान)ले आयोजना गरेको कार्यक्रममा बोल्दै डा.खतिवडाले सम्पूर्ण रुपमा नभएर पनि केहि हिस्सा भने बिक्रीका लागि खुला गर्नुपर्ने बताएका हुन् ।

आगामी वर्षको मौद्रिक नीतिको लागि सुझाव संकलन गर्न आयोजित उक्त कार्यक्रममा उनले भने–‘मैले बैंकर र व्यवसायी छुट्याउन चाहेको थिए, तर त्यो गर्न सकिएन । मौद्रिक नीतिले व्यवसायी समेत रहेका बैंकरले आफ्नो स्वामित्व बेच्न चाहेमा सहजै बिक्री गर्ने वातावरण सिर्जना गरिदिनु पर्छ ।

यो बैंकर र व्यवसायी छुट्याउने एउटा सुनौलो मौका पनि भएको उनले बताए । ‘सेयर बिक्री दिँदा संस्थापक व्यवसायी भएको निश्चित भने गर्नुपर्छ ।’ ‘बैकहरूको रिटर्न अन इक्विटी १०–१२ प्रतिशतमा झरिसकेको छ,’ उनले भने ‘ स्प्रेड रेटलाई ४ प्रतिशतभन्दा पनि तल झार्ने काम नगर्न राष्ट्र बैंकलाई सुझाव दिए ।

डा. खतिवडाले बैंकरलाई दिए यस्तो टिप्स
अहिले बैंक तथा वित्तीय संस्था ओभर क्यापिटलाइज भइसकेको बताउँदै उनले फेरि पनि पुँजी थप्ने काम नगर्न बैंकर्सहरूलाई सुझाव दिए । विगतको पुँजी वृद्धिको कारण समस्या आएको बताउँदै ६ प्रतिशतको आर्थिक वृद्धि गर्न १२ प्रतिशतको कर्जा वृद्धिले ठेग्न सक्ने ठोकुवा गरे ।

बैंकरहरुले भने मुद्दति खाताको ब्याज दर एकल अंकमा राख्नुपर्ने आवश्यकता रहेको समेत उनले बताए । बैंकहरुको मिलोमतोमा ब्याज तोक्ने परिपाटीको खुलेर विरोध गर्दै आफ्नो पालामा यस्ता कार्टेलिङलाई कारवाही समेत गरेको स्मरण गरे । उनले कृषि क्षेत्र र अन्य प्रभावित विशेष क्षेत्रलाई तोकेर रिफाइनान्स बढाउन सकिनेमा जोड दिए ।

लघुवित्तको नियमन गर्न नपुगेको बताउँदै पूर्व गभर्नर खतिवडाले बचत तथा ऋण सहकारीलाई समेत राष्ट्र बैंकको नियमनको दायरामा नल्याउन सचेत तुल्याए । ‘महिला सशक्तिकरण र गरिबी निवारणमा लघुवित्तको योगदानलाई हामीले बिर्सनु हुँदैन,’ उनले भने ‘ऋण लिएपछि तिर्नुपर्ने बताउँदै उनले ऋण लिएर तिर्दिन भन्नु अराजकता भएको बताए । ‘ऋण लिएर कोही पीडित हुँदैन । ऋण लिएपछि तिर्दिन भन्न पाइँदैन ।’

सेयर बजारका उत्थानमा देखिए पूर्व गभर्नर

डा. खतिवडाले सेयर बजारमा हस्तक्षेप नगर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन् । ‘सबै निकायले आ–आफ्नो क्षेत्राधिकारको काम मात्रै गर्दा उचित हुने भएकोले राष्ट्र बैंकलाई सेयर बजारमा हस्तक्षेप गर्न हुँदैन ।’

उनले भने ’सबैले आ–आफ्नो क्षेत्रको काम गर्नु पर्छ, आफुले आफ्नो चुलो बलेको छ कि छैन मात्र हेर्नु पर्छ, अरुको चुलोबारे चासो राख्नु हुन्न’ । राष्ट्र बैंकका पूर्व गभर्नर समेत रहेका खतिवडाले राष्ट्र बैंकले सेयर धितो कर्जामा सिलिङ तोक्ने, जोखिम भार तोक्ने लगायत सेयरबजारलाई असर पार्ने कार्य गर्नु नहुने बताए ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स