काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीतिबाट धेरै आश नगर्न आग्रह गरेका छन् । नेपाल व्यवस्थापन संघ(म्यान)ले बिहीबार आयोजना गरेको आगामी मौद्रिक नीतिमाथिको छलफल कार्यक्रममा गभर्नर अधिकारीले देशको अवस्था सबैलाई थाहा भएको भन्दै मौद्रिक नीतिबाट धेरै सहुलियतको अपेक्षा नगर्न भनेका हुन् ।
‘तपाईहरू सबैलाई अहिलेको अवस्था थाहा भएकोले कोरोना कालको जस्तो सहुलियत खोज्न हुँदैन,’ उनले भने ‘६ को आर्थिक वृद्धि र ६.५ प्रतिशतको मूल्य वृद्धको लक्ष्यलाई केन्द्रमा राखेर बजेटले लिएका प्राथमिकताका आधारमा आगामी मौद्रिक नीति आउँछ ।’
‘ऋण लिएपछि तिर्दिन भन्न मिल्दैन,’ उनले भने ‘ऋण तिर्दिन भन्ने छुट कसैलाई नभएको भन्दै लघुवित्तको वारेमा अध्ययन भइरहेको र सो रिपोर्ट आएपछि यथोचित कदम राष्ट्र बैंकले चाल्नेछ । लघुवित्तका साथै सहकारीलाई पनि त्यतिकै छाड्न मिल्दैन उनले भने ।
लघुवित्तको समग्र समस्या निराकरणको लागि विस्तृत अध्ययन भइरहेको बताउँदै उनले राष्ट्र बैंकले लघुवित्त सम्बन्धी नीति धेरै हदसम्म सोही अध्ययनको नतिजामा आधारित रहने उनले स्पष्ट पारे ।
यस्तै, उनले राष्ट्र बैंकले सहकारी संस्थाहरुलाई नियमन गर्न नचाहेको पनि बताएका छन् । ‘राष्ट्र बैंक सकेसम्म सहकारीमा छिर्न चाँहदैन, बचत तथा ऋण सहकारीले जानेर वा नजानेर कारोबार गर्दा समस्या देखियो, त्यसलाई नियमन गर्न विशिष्टकृत नियमन गर्ने संस्था आवश्यक पर्छ,’ उनले भने ।