बृहत तालिम सञ्चालनका लागि नाडा र सीप परियोजनाबीच सम्झौता

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र नेपालमा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना बृहत तालिम सञ्चालनका लागि सहकार्य गर्ने सम्झौता भएको छ। जेठ ३१ गते बुधबार नाडाको सचिवालयमा नाडाका पदाधिकारी, नाडाअन्तर्गत गठित सीप विकास इकाइका सदस्य तथा स्विस सरकारको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्भटासअन्तर्गत रहेको नेपालमा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाका उच्च अधिकारीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

उक्त संझौता ज्ञापन पत्रमा नाडाकोतर्फबाट अध्यक्ष डा.धु्रव थापा र सो परियोजनाकातर्फबाट सो संस्थाका टिम लिडर रवीन्दवहादुर सिंहले हस्ताक्षर गरेका छन् । त्यसैगरी सो कार्यलाई अघि बढाउन दुवै संस्थाको सहमतिमा नियम र सर्तहरु समेत तयार गरिएकोे छ ।

नाडाका सदस्य कम्पनीहरुमा कार्यरत कर्मचारी, प्राविधिज्ञहरु लगायत नयाँ कर्मचारी र प्राविधिकहरुलाई दक्ष र शीपयुक्त बनाउनका लागि लागि यो सझौता ज्ञापन पत्रमा हस्ताक्षर गरिएको हो । यसका लागि दुवै संस्थाको सहमतिमा २४ महिने र १२ महिने पाठयक्रम तयारगरी आवश्यक तालिम प्रदान गर्ने व्यवस्था गरिने छ जसका लागि नाडाका सदस्य कम्पनीहरुले आफना आवश्यकतानुसार कर्मचारी तथा प्राविधिकहरुलाई तालिम दिन सिफारिस समेत गर्नेछ । जसमा सैद्धान्तिक तथा व्यावहारिक दुवै खालको तालिम समावेश हुनेछ ।

नाडाले आफनो इतिहासमा पहिलो पटक यस किसिमको तालिमहरु सञ्चालन गर्न लागेको हो र नाडाले यसलाई दिर्घकालसम्म संचालन गर्ने उद्धेश्य राखेको छ । यस किसिमको तालिमले अटोमोवाइल क्षेत्रमा सहज रुपमा दक्ष जनशक्ती पूर्ति हुने विश्वास नाडाले लिएको छ । यसका लागि नाडाले छुट्टै कर्मचारी र कार्यालय समेतको व्यवस्था गरिसकेको छ ।

नाडाले यस किसिमका कार्यहरु सुचारु रुपले सञ्चालन गर्न उपाध्यक्ष राजनबाबु श्रेष्ठको सभापतित्वमा उपाध्यक्ष निराकार श्रेष्ठ, केन्द्रीय कार्य समिति सदस्यद्धय प्रकाश कपुरी, कपिल शिवाकोटी, बरदान बस्नेत, तथा सोहन श्रेष्ठ सहितको ६ सदस्यीय शीप विकास इकाई समेत गठन गरेको छ । आजको यस हस्ताक्षर कार्यक्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेति, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल समेतको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स