काठमाडौं । न्यू स्टक ब्रोकर एसोसिएसन नेपालले संसदको अर्थ समितिमा १६ बुँदे ज्ञापनपत्र पेश गरेको छ । एसोसिएसनले नयाँ धितोपत्र दलाल व्यवसायी तथा व्यापारीको लाइसेन्स वितरणसम्बन्धमा अर्थ समितिबाट भएको निर्देशन पूर्वाग्रहपूर्ण रहेको ठहर गर्दै १६ बुँदे ज्ञापनपत्र पेश गरेका हो ।
अर्थ समितिले लाइसेन्स पाइसकेका र कारोबार सुरु गर्न लागिसकेका ब्रोकर कम्पनीहरुको लाइसेन्स रोक्ने जस्तो आत्मघाती कदम अघि नबढाउन सचेत गराउँदै एसोसिएसनले समिति समक्ष ज्ञापनपत्र पेश गरेको हो ।
ज्ञापनपत्रमा करिब आधा करोड लगानीकर्ताको आशा र विश्वासविपरीत पुँजीबजारको विकास र विस्तारलाई रोक्ने उद्देश्यले अर्थ समितिबाट नेपाल सरकार, अर्थमन्त्रालय, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई जारी निर्देशनले नेपालको पुँजीबजारमा भएको यति ठूलो प्रगतिलाई रोक्ने भएको हुँदा यस्तो पूर्वाग्रह पूर्ण निर्देशनलाई तुरुन्त खारेज गर्न एसोसिएसनले माग गरेको छ ।
नयाँ ब्रोकर आउन सकेमात्र पुँजी बजारको विकास प्रक्रिया अघि बढ्न सक्ने, बजारमा प्रतिस्पर्धा बढ्ने तथा आम लगानीकर्ताले सहज र अत्याधुनिक सेवा पाउन सक्नेतर्फ पनि एसोसिएसनले ज्ञापनपत्रमार्फत उल्लेख गरिएको छ ।
एसोसिएसनले अर्थ समितिलाई विभिन्न सुझाव दिँदै ती विषयलाई गम्भीरताका साथ लिइदिन पनि आग्रह गरेको छ। ‘संघीय संसदअन्तर्गतको अर्थ समितिबाट नेपालको पुँजीबजार सुधार तथा बजारको विकास एवं विस्तारको कार्यलाई नेतृत्व प्रदान गरिदिन समेत आग्रह गरेको छ ।