यस वर्ष छ सय झोलुंगे पुल निर्माण हुने

काठमाडौं । यस वर्ष देशभर झण्डै छ सय झोलुंगे पुल निर्माण गरिने भएको छ । एक दिनमा दुई झोलुंगे पुल बनाउने योजनाअनुसार सात सय ३० पुल निर्माण गर्ने लक्ष्य भए पनि बजेट अभावका कारण त्योभन्दा केही कम सङ्ख्यामा सम्पन्न हुन लागेको हो ।

पुराना क्रमागत काम भए पनि नयाँ पुलमा बजेट कमीले गर्दा नयाँ ठेक्का आह्वान गर्न नसकिएको स्थानीय पूर्वाधार विभागले जनाएको छ । दुई वर्ष पहिले र गतवर्ष सुरु भएका पुल निर्माण सम्पन्न गर्न लागिएको छ । पुल निर्माण तीनै तहबाट हुने भए पनि छुट्टाछुट्टै नभएर आपसी समन्वयमा हुने गरेको विभागको भनाइ छ ।

‘स्थानीय तहले साना, प्रदेशले मध्य र संघीय सरकारले लामा पुल निर्माण गर्दै आएको छ’, विभागका उपमहानिर्देशक अशोककुमार साहले भने, ‘संघले ठूला तथा दुई वटा डाँडा जोड्ने वा प्राविधिक रुपमा कठीन र धेरै स्पान चाहिने पुल बनाउने गर्छ ।’ एउटा पुल बनिसक्न कम्तीमा दुईदेखि तीन वर्ष लाग्छ ।

कुनै योजनामा बजेट परेपछि पहिलो वर्ष त्यसको सम्भाव्यता अध्ययन तथा विस्तृत अध्ययन गरिने र खरिद प्रक्रिया सुरु हुने उनले बताए । पुल सानो भएमा खरिद प्रक्रियामा गएको एक वर्षमै र ठूलो भएमा दुई वर्षमै सम्पन्न गरिने छ । यस वर्ष ग्रामीण क्षेत्रमा बढी झोलुंगे पुल निर्माण गर्ने योजना छ । खासगरी कर्णालीको, सुदूर पश्चिम क्षेत्रमा बढी जोड रहेको उपमहानिर्देशक साहको भनाइ थियो ।

गत वर्षसम्म विभागले देशभरका तुईन विस्थापित गर्न प्राथमिकता दिएको थियो । अब तुइन हटाउनका लागि झोलुंगे पुल बनाउनुपर्ने भएको उहाँले जानकारी दिए । उपमहानिर्देशक साहले भने, ‘पहिले पहिचान भएका सबै तुइनका ठाउँमा झोलुंगे पुल बनाइसकिएको छ ।’ विभागले खासगरी ग्रामीण भेगका नागरिकलाई नदी वारपार गर्न सजिलो होस् भनी पुल निर्माण गर्दै आएको छ । झोलुंगे पुल बनेको केही वर्षभित्रै सडक पुल बन्ने ठाउँभन्दा पनि अझै केही वर्ष नबन्ने देखिएको स्थानलाई प्राथमिकतामा राखिएको विभागले बताउँदै आएको छ ।

चार पाँच वर्षमा नै त्यहाँ मोटर गुड्ने पुल बनाइने स्थानमा झोलुंगे पुलको औचित्य नभएको उपमहानिर्देशक साहले बताए । चालु आब र आगामी आबमा पनि अब तराईमा झोलुंगे पुलको योजना कम रहेको छ । काठमाडौं उपत्यकामा भने त्यस्तो योजना नै छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स